बम्जनको घरबाट ३ करोड ३४ लाखसहित दुईवटा गाडी र १४ थान मोबाइल बरामद



काठमाडौं । यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलवार बेलुका (हिजो) उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो ।

थप अनुसन्धानको क्रममा उनको घरबाट ठूलो धनराशी बरामद गरिएको पनि सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए ।

उनकाअनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ । त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाइल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।

एसएसपी आचार्यले भने, ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रीय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बम्जन भनिने रामलाल बञ्जनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्राउ गर्न सफल भएका छौं’ उनले भने ।

२०७६ सालमा सर्लाहीमा एक जना नाबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बञ्जनको खोजिभइरहेको अवस्था थियो । यसै सन्दर्भमा विभिन्न मानिसहरु पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो ।

नगदको साथसाथै अन्य थुप्रै सामानहरु बरामद गरिएको उनले बताए ।

मोबाइल १४ थान, आईप्याड ५ थान र उनको साथमा २ वटा गाडीहरु र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको आचार्यले जानकारी दिए ।

ब्युरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरुको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।


क्लिकमान्डु