विराटनगरमा डेढ अर्ब लगानीमा बनेको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने



काठमाडौं । विराटनगरको भृकुटी चोकमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण भएको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने भएको छ ।

शुभ इन्टरनेशनल हस्पिटालिटी प्रालिले निर्माण गरेको होटल आगामी जेठदेखि सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीले भृकुटी चोकमा ८० वटा कोठाको सुविधासहित होटल निर्माण गरिरहेको छ । त्यसमध्ये पहिलो चरणमा ५६ वटा कोठाको सुविधासहित जेठबाट सञ्चालनमा आउने भएको हो । भारतको कार्नेसन होटल प्रालिसँग सम्झौता गरेको कम्पनीले ‘लेमन ट्रि प्रिमियर’ ब्रान्डमा होटल सञ्चालन गर्नेछ ।

होटलमा कविता श्रेष्ठको २५ प्रतिशत, विनयमकुमार चौधरी अग्रवालको ३० प्रतिशत, सितादेवी चौधरी अग्रवाल ४० प्रतिशत, गंगा खतिवडाको ५ प्रतिशत हिस्सा छ । कविता श्रेष्ठ अक्ष्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

निर्माण कार्य ढिला हुँदा तत्कालका लागि ५६ कोठाको सुविधाका साथ होटल सञ्चालनमा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले सुरुमा १ अर्ब २८ करोड ४० लाख रुपैयाँ लगानीमा ५६ वटा कोठाको सुविधाको होटल सञ्चालनमा ल्याउने योजना बनाएको थियो । उक्त योजना संशोधन गरेर कम्पनीले ८० कोठाको होटल निर्माण गरिरहेको छ ।


क्लिकमान्डु