बबल टी बेचेरै अर्बपति बनेका दाजुभाइ



एजेन्सी । २१ वर्षका जाङ होङचाओले चीनको जेङजोउ शहरमा आईसक्रिम बेच्ने पसल (सेभ्ड आईस ट्रिट्स बेच्ने पसल) खोल्नका लागि आफ्नी हजुरआमासँग पैसा मागेका थिए । उनको पहिलो व्यवसायमा सफलता त मिलेन तर उनले हार खाएनन्।

दुई वर्षपछि उनले पुनः प्रयास गरे फेरि अर्को आईसक्रिम पसल खोले । पसलको नाम चिनियाँमा मिक्सुए बिङचेङ राखे, जसको अर्थ ‘मिठो बरफ दरबार’ हुन्छ ।

पहिलो पटकमा असफलता हात लागेको थियो । दोस्रो पटकमा भने उनको व्यवसायले गति लिँदै गयो । उनले आईसक्रिम बेचिरहेका थिए । पछि उनले सोही ठाउँमा बबल टि, लेमनेड (कागती पानी) र कफीका सामग्रीहरु पनि सस्तो मूल्यमा बेच्न थाले।

अहिले उनको पसल मिक्सुए बिङचेङ चीनभर ३६ हजार पसलमा विस्तारित भएको छ र चीनको सबैभन्दा ठूलो बबल टि बनाउने पसल बनेको छ । सँगै उनको कम्पनी अब सेयर बजारमा सूचीकृत हुने तयारीमा पनि रहेको छ ।

जाङ, जो अहिले ४७ वर्ष पुगे र उनका ३९ वर्षीय भाइ होङफु दुवै जना अर्बपति भएका छन् ।

मिक्सुएले गत मंगलबार हंगकङमा आफ्नो सेयरलाई सार्वजनिक निस्कासनका लागि आवेदन दिएको छ, जसमा कम्पनीको स्वामित्वको पनि खुलासा भएको छ । दुई भाइहरुसँग बराबर ४२.८ प्रतिशत कम्पनीको स्वामित्व रहेको उक्त निवेदनमा देखिन्छ।

मिक्सुएको आम्दानी र खुद नाफा २०२३ को पहिलो ९ महिनामा नै ४६ देखि ४८ प्रतिशतसम्मले वृद्धि भएको प्रक्षेपण गरिएको छ । यसले कम्पनीको कुल भ्याल्यूलाई २.९ बिलियन अमेरिकी डलर (तीन अर्ब ८४ अर्ब ९४ करोड नेपाली रुपैयाँ) पुर्‍याएको छ ।

कम्पनीले पछिल्लो पटक सन् २०२१ को जनवरीमा ३२९ मिलियन अमेरिकी डलर बराबरको लगानी जुटाएको थियो । कम्पनीले आफ्नो भ्यालुएसन ३.३ बिलियन राख्दै यो लगानी उठाएको थियो ।

हिलहाउस क्यापिटलका मालिक तथा अर्बपति लि जाङ र अर्का अर्बपति वाङ जिङको ड्रागनबल क्यापिटलले लगानी गरेको थियो । २०२२ मा नै कम्पनीले चीनको सेन्जेन सेयर मार्केटमा ९१५ मिलियन अमेरिकी डलर बराबरको आईपीओका लागि आवेदन दिएको थियो, तर त्यसका लागि अनुमति भने दिइएन् ।

चीनमा ३२ हजार शाखाहरु खोलेको कम्पनीले अन्य एसियाली देशहरुमा पनि ४ हजारवटा स्टोरहरु खोलेको छ । कम्पनीको प्रतिवेदनकाअनुसार यसले सन् २०२३ को पहिलो ९ महिनामा ५ अर्ब ८० करोड कप पेय पदार्थ बेचेको थियो, जुन विश्वभरमै दोस्रो नम्बरमा आउँछ । तयार गरिएको पेय पदार्थ सबैभन्दा धेरै बेच्ने कम्पनीमा अहिले पनि कफी बेच्ने अमेरिकी कम्पनी स्टारबक्स रहेको छ ।

मिक्सुएको सफलताको पछाडिको कारण यसको सस्तो मूल्य रहेको छ । ताजा कागती पानी, आईसक्रिम, कफी र फ्रुट टीजस्ता पेय पदार्थको मूल्य १ अमेरिकी डलर बराबर मात्रै रहेको छ, जबकी हंगकङमा सेयर बजारमा सूचीकृत अन्य बबल टी बनाउने कम्पनीहरुले यति कै लागि ३.८० अमेरिकी डलर औसतमा लिने गरेका छन् ।

कम्पनीले आफूले मूल्य सस्तो राख्न सक्नुको कारण भनेको आफूसँग भएको वितरण प्रणाली रहेको बताएको छ । गुणस्तरदेखि अनुसन्धान, वितरणजस्ता कुराहरुका लागि आफूसँगै रहेको परिस्कृत वितरण प्रणालीका कारण मूल्य सस्तो राख्न सकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका मालिक होङचाओ सन् १९९७ मा हेनना इकोनोमिक्स एण्ड फाइनेन्स कलेज (अहिलेको अर्थशास्त्र र कानुनसम्बन्धित हेनान विश्वविद्यालय)मा अध्ययन गरिरहेका थिए । त्यो बेला उनले पार्ट टाइम कामका रुपमा एक पेय पदार्थ बेच्ने कम्पनीमा काम गर्न थालेका थिए ।

सोही ठाउँमा काम गरिरहँदा उनलाई आफैंले नै बरफ बनाउने मेसिन बनाउने र आईस ट्रिट (आईसक्रिमजस्तै खाने सामग्री) बेच्ने पसल सुरु गर्ने सोच आएको थियो । त्यो बेला यस्तो किसिमको व्यवसाय जेङजोउ क्षेत्रमा चर्चित नभए पनि छिमेकी क्षेत्र साङक्युतिर भने चर्चित थिए ।

उनले आफ्नी हजुरआमासँग ३ हजार युआन वा ४२२ अमेरिकी डलर मागेर आफ्नो पसल सुरु गरेका थिए । यो पसल उनको पहिलो व्यवसाय थियो, जसको नाम उनले कोल्डस्न्याप सेभ्ड आईस राखेका थिए ।

हिउँदको समयमा उनले आफ्ना उत्पादनहरु बेच्न निकै संघर्ष गर्नु परेको थियो, जसले गर्दा उनलाई व्यवसायको एउटा जटिल पाठको ज्ञान भयो । उनले आम्दानीका लागि सुन्तला बेचेर गुजारा गरेका थिए ।

एक पटकको असफलता भए पनि पछि सन् १९९९ मा उनले नयाँ प्रोडक्टहरु सहित पुनः आफ्नो व्यवसायलाई सुरु गरे । यसपटक व्यवसायको सुरुवात मिक्सुए बिङचेङका रुपमा भएको थियो । उनी गुलियो पेय पदार्थ र पछि आईसक्रिमहरु बेच्न थालेका थिए ।

उनका भाइ होङफु हाल मिक्सुएका सीईओ छन्, जो सन् २००७ मा कम्पनीमा आवद्ध भएका थिए । दाइ भने कम्पनीका सीईओ रहेका छन् । भाइ होङफुले नै कम्पनीको सञ्चालन र व्यवस्थापनलाई आधुनिक बनाएका थिए, जुन अहिले सफल फ्रेन्चाइज मोडल बनेको छ । कम्पनीका ९९.८ प्रतिशत स्टोरहरु फ्रेन्चाइज मार्फत नै सञ्चालनमा रहेका छन्, जुन विश्वकै ठूलोमध्येको एक फ्रेन्चाइज हो । कम्पनीसँग चीनमा ८५ वटा प्याटेन्ट पनि रहेको छ र आफ्नो उद्योग छ, जहाँ कम्पनीले आफूलाई आवश्यक सिरपदेखि चिया, कफीहरुको उत्पादनदेखि चाहिने उपकरण पनि उत्पादन गरिरहेको छ ।

अहिलेसम्म दुई दाजु भाइले थुप्रै इनोभेसन गरेका छन् । मिक्सुएलाई हानोइ, भियतनाम मा सन २०१८ मा निर्यात गरिएको थियो । अहिले पसल क्यानडा, इन्डोनेसिया, जापान र दक्षिण कोरियामा पनि विस्तार भएको छ ।

मिक्सुएले आफ्नो विज्ञापनका लागि निकालेको स्नो किंग मस्कोट र मस्कोटलाई समावेश गरिएको उनीहरुको कम्पनीको गीत पनि निकै चर्चित छ । चीनको युट्युब भनिने बिल्लीबिल्लीमा उक्त गीतमा २ करोड ४० लाख भ्युज रहेको छ ।

जाङ बबल टीबाट सफलता पाउने पछिल्ला व्यक्ति हुन् । पछिल्लो समय जेन जि पुस्ता (१९९७ देखि २०१२ भित्र जन्मिएको पुस्ता)मा निकै चर्चित रहेको बबल टीबाट अर्बपति बन्ने अन्यमा चाङ पान्डाका संस्थापक वाङ जिउओकुन, र मिक्सुएकै प्रतिस्पर्धी नयुकीकी संस्थापक पेङ जिन र झाओ लिन पनि हुन् ।

फोर्ब्सबाट


क्लिकमान्डु