सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) आजदेखि निष्कासन गरेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।

उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरिएको छ । उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका- ३, ४, ५, ६ र १३ तथा खानी उत्खनन् प्रभावित पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका-१ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

रिब्दीकोट गाउँपालिका- २, ३, ४ र ६, तिनाउ गाउँपालिका-१, २ र ३, माथागढी गाउँपालिका- ७ र ८ तथा निस्दी गाउँपालिका-७ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

यस्तै कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

उद्योग प्रभावित क्षेत्रका स्थानीयले माघ १० गतेसम्म आवेदन दिन सक्न्छन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १० गतेसम्म आवेदन दिन सक्न्छन् ।

उद्योग प्रभावित क्षेत्रका स्थानीयले नवलपरासी जिल्लाको ग्लोबल आइएमई, लक्ष्मी सनराइज, शाइन रेसुङ्गा डेभलपमेन्ट, गरिमा विकास र मुक्तिनाथ विकास बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।

खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पाका स्थानीयले ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु