जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय नाघ्यो, १०२ बेपत्ता



एजेन्सी । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म २ सय नाघेको छ । अधिकारीकहरुका अनुसार १ सयभन्दा बढी अझै बेपत्ता छन् ।

उनीहरूका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापुस्थित नोटो प्रायद्विपमा आगलागी हुँदा भवन र पूर्वाधार ध्वस्त भएका थिए । भूकम्प गएको आठ दिनसम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बाबजुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिससामु पुग्ने प्रयास गरिरहेका छन् ।

इशिकावा क्षेत्रीय अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ सय जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता छन् ।

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्यांक अद्यावधिक गर्दासम्म बेपत्ताको संख्या तीन गुणा बढेर ३२३ पुगेको थियो, जसमा धेरैजसो अतिप्रभावित क्षेत्र वाजिमाका बासिन्दा थिए ।

प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भइरहेको जनाइएको छ । सोमबारसम्म झन्डै ३० हजार मानिस ४ सयवटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना र पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।

झन्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार ६ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ । मंगलबारको दैनिक विपद्-राहत सरकारी बैठकमा प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न निर्देशन दिएका छन् ।

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि, चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यति ठूलो क्षति भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।

सन् २०११ को भूकम्पले सुनामी निम्त्याउँदा करिब १८ हजार ५ सय मानिसको मृत्यु भएको थियो ।


क्लिकमान्डु