सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.०९ प्रतिशत, कर्जा प्रवाह १.५% ले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.०९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ ।

२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कुल कर्जाको ७१.२४ प्रतिशत हिस्सा सेवा क्षेत्रमा रहेको छ । केन्द्रीय बैंकले गरेको अध्ययन अनुसार २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा संकलन भएको निक्षेप १६.०९ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब २६ करोड २० लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा यस्तो निक्षेप ५.८६ प्रतिशतले बढेको थियो । २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १.५० प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४२ प्रतिशतले वृद्धि भएको थियो ।

असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२८ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.५० प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३३०, विकास बैंकका ५२, वित्त कम्पनीका ५ तथा लघुवित्त वित्तीय संस्थाका ४५९ सहित ८४६ शाखा सञ्चालनमा छन् ।

यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३६१ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २८ शाखा सञ्चालनमा छन् । गत वर्ष सोही अवधिमा यस प्रदेशमा वाणिज्य बैंकका ३२९, विकास बैंकका ५२, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४५३ गरी जम्मा ८४० वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु सञ्चालनमा रहेका थिए ।


क्लिकमान्डु