उपत्यकामा करिब दर्जन कम्पनीले ७ सय हाउजिङ बनाउँदै, कहाँ कसले बनाउँदै छन् ?



काठमाडौं । काठमाडौं उपत्यका नेपालको राजधानी मात्रै नभइ प्रमुख सहरमध्ये एक हो । अवसरको खोजीमा हरेक दिन मुलुकका हरेक जिल्लाबाट सयौं मानिसहरु यहाँ प्रवेश गर्छन् । अवसरसँग सिर्जना हुने आधारभूत आवश्यकता पूर्ति गर्दै जाँदा सानो र चिटक्क परेको घर उपत्यकामै होस् भन्ने धेरैको कामना हुन्छ ।

तर अचाक्ली महंगा जग्गा र त्यसमा करोडौं खर्चेर घर बनाउने चाहना सबैको पूरा नहुन सक्छ । त्यसमाथि अव्यवस्थित सहरी विकासले भने जस्तो ठाउँमा रोजे जस्तो घर बनाउने चाहना सबैको पूरा नहुन सक्छ ।

त्यसैले पछिल्लो समयमा अव्यवस्थित सहरी बसोबासले कुरुप बनाउँदै गरेको उपत्यकाको सौन्दर्यलाई कायमै राख्नका लागि विभिन्न कम्पनीहरुले व्यवस्थित सहरी विकासको योजना अगाडि सारेका छन् । जसमा कैयन कम्पनीहरु निर्माणको काममा लागेका छन् ।

निजी कम्पनीहरु मात्रै होइन, सरकार आफैले पनि उपत्यकाका चार स्थानमा स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको छ । यद्यपि उक्त स्मार्ट सिटीले जग हाल्न भने अझैसम्म सकेको भने छैन ।

तर केही निजी कम्पनीहरु यस्ता छन् । जसले मानिसहरुको व्यवस्थित बसोबासको चाहनालाई साकार पार्न तल्लीन छन् । त्यस्तै, उपत्यकामा अहिले दर्जनभन्दा बढी कम्पनीहरुले अर्बौ लगानी गरेर व्यवस्थित बसोबासका लागि एकिकृत बस्ती निर्माणमा जोड दिएका छन् ।

कम्पनीहरुले उपत्यकाको वरीपरीका स्थानहरुमा लक्जरियस हाउजिङ बनाइरहेका छन् । ग्राहकहरुलाई बिना कुनै झन्झट र सहज तरिकाले आफ्नो सपनाको घर पाउन सक्नेछन् ।

अहिले उपत्यकाको रिङरोडभन्दा १०,१२ किलोमिटर भित्रको दुरीमा रहेका स्थानहरुमा घर बनाउनका लागि आवश्यक पूर्वाधार विकास हुन नसकेको अवस्था छ । घर निर्माण भइसकेपछि ढल निकासा र पानीको निकै समस्या हुने गरेको पाइएको छ । त्यसैले सर्वसाधारणहरुमा घर बनाउने क्रममा निकै समस्या भोगिरहेका पाइन्छन् ।

तर, बिना कुनै झन्झट उपत्यकामा आफ्नो घरमा बस्न चाहनेका लागि रियल इस्टेट व्यवसायीहरुले व्यवस्थित आवास निर्माण जोड दिँदै आएका छन् । दर्जनभन्दा बढी कम्पनीहरुले सयौं संख्यामा हाउजिङ बनाइरहेका छन् ।

डाउनटाउन हाउजिङले २ सय बढी घर बनाउँदै

डाउनटाउन हाउजिङले ललितपुरको धापाखेलमा सर्वसाधारणका लागि १०२ रोपनी क्षेत्रफलमा हाउजिङ निर्माण गरिरहेको छ । कम्पनीले व्यवस्थित आवासलाई जोड दिँदै धापाखेल रेसिमेडन्स नाममा उक्त क्षेत्रफलमा २ सयभन्दा बढी हाउजिङ बनाउने भएको हो ।

कम्पनीले ८ महिनाअघिबाट आयोजना सुरु गरेको थियो । हालसम्ममा ४० वटा हाउजिङ बनाइसकेको छ । साथै, हाउजिङको निर्माण कार्य तीब्र गतिमा अगाडि बढेको छ ।

कम्पनीले साढे दुई तल्लाको घरहरु निर्माण गर्नेछ । त्यसमा चार कोठा, चारवटा बाथरुम, एउटा भान्साको सुविधा हुनेछ । कम्पनीले फर्निसिङको सम्पूर्ण काम गर्नेछ भने लुज फर्निचरको घरधनी आफैंले खरिद गर्नुपर्नेछ ।

कम्पनीसँग २ करोड २६ लाख रुपैयाँको सुरुवाती मूल्य राखेको छ भने अधिकतम मूल्य ३ करोड ९ लाख रुपैयाँ तोकेको छ । ३ करोड ९ लाख रुपैयाँको हाउजिङ ४ आनामा निर्माण हुनेछ ।

हाउजिङमा पानी, बिजुली, ढल निकाससहित खुल्ला स्थानको व्यवस्था हुनेछ । कम्पनीले करिब ५ अर्ब लागतमा निर्माण गरिरहेको छ । त्यसैगरी, जग्गा खरिद गरेर पछि हाउजिङ बनाउनेका लागि पनि उक्त सुविधा पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीले जग्गाको प्रतिआना मूल्य ४२ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले चार प्रकारका ४ प्रकारका घर निर्माण गर्नेछ । जसमा कम्पनीले एउटा घरको मूल्य न्यनतम डेढ करोड रुपैयाँदेखि ४ करोड ३ लाख रुपैयाँ तोकेको छ ।

भूमि डेभलपर्सको गोदावरीमा ७२ वटा लक्जरियस हाउजिङ

भूमि डेभलपर्सले ललितपुरको गोदावरीमा ७२ वटा लक्जरियस हाउजिङ निर्माण गरिरहेको छ । पछिल्लो समयमा उपत्यकामा व्यवस्थित बसोबासको माग बढ्दै गएपछि कम्पनीले ४० रोपनी क्षेत्रफलमा ७२ वटा घर निर्माण गर्दैछ ।

हालसम्ममा कम्पनीले निर्माण गरिरहेको हाउजिङमध्ये २० वटा बिक्री गरिसकेको छ । कम्पनीले गोदावरीमा तीन प्रकारका घर बनाउनेछ । कम्पनीअनुसार हाउजिङ ४ आनादेखि ११ आनासम्मको बन्नेछ । जसमा कम्पनीले प्रति घरको मूल्य न्यूनतम ३ करोड ९० लाख रुपैयाँदेखि ७ करोड २० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । त्यसमा हालसम्म ४,५ वटा घरहरु बिक्री भइसकेको छ ।

कम्पनीले घर खरिदका लागि पहिलो चरणमा २० प्रतिशत रकम तिरेर बुकि गर्न सक्नेछ । त्यसपछि एक महिनामा ३० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ । उक्त रकम दिईसकेपछि दुई महिनाभित्र थप २५ प्रतिशत रकम भुक्तानी गर्नपर्ने कम्पनीको भनाइ छ।

साथै, बाँकी २५ प्रतिशत रकम लालपूर्जा जग्गा धनीलाई पास गर्नु ३ महिना अगावै तिर्नुपर्नेछ । कम्पनीले हाउजिङमा ढल व्यवस्थापन सुविधा, पानी सुविधालगायत अन्य विभिन्न सेवा निशुल्क गर्ने जनाएको छ ।

पद्म रेसिडेन्सीले रामकोटमा २३ वटा हाउजिङ बनाउने

पद्म ग्रुपको पद्म रेसिडेन्सीले काठमाडौंको रामकोटमा २३ वटा हाउजिङ निर्माण गर्ने भएको छ । कम्पनीले यसअघि नै विभिन्न स्थानमा चार चरणमा हाउजिङ बनाइसकेको छ । त्यस्तै, कम्पनीले पाँच चरणमा हाउजिङसहित अपार्टमेन्ट निर्माणमा जोड दिएका छन् ।

कम्पनीले रामकोटमा ४९ रोपनी क्षेत्रफलमा २३ वटा हाउजिङ र ९२४ वटा अपार्टमेन्ट निर्माण गर्ने भएको हो । कम्पनीले विभिन्न सेवा सुविधाको व्यवीथापन गरी हाउजिङ बनाउने कार्य अगाडि बढाएको छ ।

कम्पनीले तेस्रो र चौथो चरणमा निर्माण गरेको हाउजिङमध्ये २०÷२० वटा बिक्री हुन बाँकी रहेको जनाएको छ । हाउजिङ साढे २ तल्लाको निर्माण हुनेछ । कम्पनीले ४ आना बढी क्षेत्रफलमा हाउजिङ निर्माण गर्नेछ ।

मनमैजु रेसिडेन्सले ३६ वटा सुविधासम्पन्न हाउजिङ बनाउँदै

हार्मोनी रेसिडेन्सीले मनमैजुमा मनमैजु रेसिडेन्सी बनाइरहेको छ । कम्पनीले ३५ वटा सुविधा सम्पन्न हाउजिङ बनाउने भएको हो । कम्पनीले १८ रोपनी क्षेत्रफलमा ३५ वटा घर निर्माण गर्ने भएको हो ।

कम्पनीले ५ प्रकारका घर निर्माण गर्ने जनाएको छ । जसमा सबै घर तीन तल्लाको हुनेछ । कम्पनीअनुसार टाइप वान घर २२८२ स्क्वारफिट क्षेत्रफलमा निर्माण हुनेछ भने ४ वटा बेडरुमको सुविधा हुनेछ । टाइप टु घर २२१६ स्क्वारफिटमा बन्नेछ र ३ वटा बेडरुमको सुविधा हुनेछ ।

त्यसैगरी, टाइप थ्री २२४३ स्क्वायरफिटमा बन्नेछ र उक्त घरमा ४ वटा बेडरुमको सुविधा हुनेछ । टाइप फोर घर २४२० स्क्वारफिटमा बन्नेछ । उक्त घरमा ४ बेडरुम र एउटा मेड रुमको सुविधा हुनेछ । साथै, टाइप फाइभ घर २५४० स्क्वायरफिटमा बन्नेछ । घरमा ५ वटा कोठाको सुविधा हुनेछ ।

सीजी डेभलपर्सले ५६ वटा लक्जरियस घर बनाउँदै

चौधरी ग्रुपको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैँसेपाटी’ नामक हाउजिङ परियोजना निर्माण गरिरहेको छ । राजधानीमा पछिल्लो समय भिआईपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैँसेपाटीको विशेष आकर्षणका रूपमा सीजीको हाउजिङ परियोजना निर्माण गरिरहेको छ ।

सीजी डेभलपर्सले सो क्षेत्रमा ५६ वटा लक्जरियस घरहरू निर्माण गर्ने जनाएको छ । आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रवन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआईपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिदै आउनु भएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन यहाँ हाउजिङ परियोजना शुरू गरिएको हो ।

यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन् । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन् । यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन् ।

कम्पनीले विभिन्न चार प्रकारका घरको विभिन्न सेवासुविधा र क्षेत्रफलको आधारमा मूल्य तय गरेको छ । कम्पनीले घरको न्यूनतम मूल्य ५ करोड ७० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म मूल्य तोकेको छ ।

२६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको हाउजिङमा अत्याधुनिक सुविधा हुनेछ ।

सीजी होल्डिङ्सले ललितपुरको तीन स्थानमा १२१ वटा हाउजिङ बनाउँदै

सीजी होल्डिङ्सले अर्बौ लगानीमा ललितपुरको तीन स्थानमा १२१ वटा भिल्ला निर्माण गरिरहेका छन् । होल्डिङ्सले पहिलो चरणमा धापाखेलमा ९१ वटा भिल्ला निर्माण गर्नेछ । कम्पनीले ‘सीजी लेकभ्यू’ नाममा ९१ वटा भिल्ला बनाउने भएको हो । कम्पनीले उक्त क्षेत्रमा ४ आनादेखि १३ आना क्षेत्रफलमा भिल्ला निर्माण गर्नेछ ।

त्यसैगरी, कम्पनीले ललितपुरकै थेचोमा दोस्रो चरणमा २१ वटा भिल्ला निर्माण गर्नेछ । कम्पनीले ४ वटादेखि ५ बीएचकेको १६ वटा प्रिमियम भिल्ला बनाउनेछ । उक्त भिल्ला १९८० क्षेत्रफलमा निर्माण हुनेछ । सोही क्षेत्रमा ५ वटा भने लक्जरियस भिल्ला निर्माण हुनेछ । सो घरहरु ५ बीएचकेको निर्माण हुनेछ । कम्पनीअनुसार भिल्ला २ हजार स्क्वायर फिटदेखि ४७ सय स्क्वारफिटमा निर्माण हुनेछ ।

कम्पनील ललितपुरको भैंसेपाटी हाईटमा ९ वटा लक्जरियस भिल्ला निर्माण गर्नेछ । उच्च सुविधायुक्त डिजाइनसहित निर्माण शुरु गरेको हाउजिङ ३ तला र ४ तले भिल्ला बन्नेछन् । सीजीले ६ आनादेखि १० आना क्षेत्रफलमा ९ वटा घर बनाइरहेको जनाएको छ ।

ग्रीनहिल सिटी र गौरभ डेभलपर्सले सूर्यविनायक कोलोनीमा १५० घर बनाउने तयारी

ग्रीनहिल सिटी र गौभव डेभलपर्सले ५५ रोपनी क्षेत्रफलमा सुर्यविनायक कोलोनी विस्तार गर्ने भएको छ । दुई कम्पनीको ४ अर्ब बढी लगानीमा कोलोनी निर्माण गर्ने भएको हो । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष भेषराज लोहनीको लगानी रहेको कम्पनीले उक्त क्षेत्रमा १५० बढी घर निर्माण गर्ने भएको छ ।

कम्पनीले हालसम्ममा जग्गाको विकास गरिसकेको अध्यक्ष लोहनीले बताए । उनकाअनुसार कोलोनीको कार्य आगामी ८ महिनापछि सुरु हुने जनाएको छ । कम्पनीले व्यवस्थित आवासमा हुनुपर्ने सम्पूर्ण सुविधाको व्यवस्था गर्नेछ ।

सिद्धार्थ ग्रुपले चोभारमा २४ वटा कोलोनी बनाउँदै

सिद्धार्थ ग्रुपले चोभारमा ४७ रोपनी क्षेत्रफलमा जलविनायक कोलोनी विस्तार गरिरहेको छ । कम्पनीले ४७ रोपनी क्षेत्रफलमा २४ वटा घरहरु निर्माण गरिरहेको छ । घरहरु ४ आनादेखि ६ आनासम्म निर्माण भइरहेको छ । कम्पनीले चोभारमा पाँच प्रकारका घर निर्माण गरेका छ । कम्पनीले टाइप ए, बी, सी, डी र ई प्रकारका घरहरु निर्माण गरेको हो ।

कम्पनीले घरको न्यूनतम मूल्य २ करोड ५५ लाख रुपैयाँदेखि ४ करोड ३५ लाख रुपैयाँसम्म तोकेको छ । कम्पनीले ४ आनादेखि ८ आनासम्मको घरहरुको मूल्य क्षेत्रफल र स्थानको आधारमा छुट्टाछुट्टै तोकेको हुनाले ग्राहकले आफ्नो रोजाइअनुसार घर खरिद गर्न सक्नेछन् । सबै घरहरु फोरबीचकेका छन् ।


अरिष्मा मोक्तान