टेस्लालाई उछिन्दै बिवाईडी बन्यो धेरै ईभी बेच्ने कम्पनी, कति बिक्यो ?



एजेन्सी । विद्युतीय गाडी निर्माता चिनियाँ कम्पनी बिवाईडीले विश्वकै शीर्ष स्थानमा रहेको टेस्लाको बिक्रीलाई उछिनेको छ ।

सन् २०२३ को अन्तिम त्रैमासमा बिवाईडीले टेस्लाले बिक्री गरेकोभन्दा धेरै विद्युतीय गाडीहरु बिक्री गर्दै पहिलो स्थान हासिल गरेको हो ।

बिवाईडीले गत सोमबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२३ को अन्तिम त्रैमासमा कम्पनीका ५ लाख २६ हजार गाडीहरु बिक्री भएका छन् ।

पछिल्लो समय अमेरिकी गाडी निर्माता कम्पनी टेस्लाको बिक्रीमा ह्रास आउँदै गएको छ । मूल्य उच्च रहेका कारण मस्कको गाडीको बिक्री कम हुँदै गएको हो । टेस्लाले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ को अन्तिम त्रैमासमा भने कम्पनीका ४ लाख ८४ हजार ५ सय वटा गाडीहरु बिक्री भएका छन् ।

सन् २०२३ को वर्षभरिकै तुलनामा भने टेस्लाकै गाडीहरु धेरै बिक्री भएका छन् । यो वर्षभरिमा टेस्लाले विश्वभर गरि १८ लाख गाडीहरु बिक्री गरेको छ ।

सन् १९९५ मा स्थापना भएको चीनको सेन्जेनमा रहेको बिवाईडी पछिल्लो समय मध्यम वर्गियहरुलाई पनि लक्षित गर्दै विद्युतीय गाडीहरु निर्माण गरिरहेको छ ।

बिवाईडीले सन् २०२३ भरिमा भने ३० लाख गाडीहरु बिक्री गरेको छ, जसमा विद्युतीय गाडीसँगै हाइब्रिड (विद्युतीय र पेट्रोल दुवैबाट चल्ने) गाडीहरु रहेका छन् । बिवाईडीले सन् २०२३ भरिमा विद्युतीय गाडी भने १६ लाख वटा बेचेको जनाएको छ ।

बिवाईडी वांग चुन्फुले आफ्ना भतिजासँग मिलेर सुरु गरेको कम्पनी हो । कम्पनी सुरुवातमा मोबाइल फोन, ल्यापटपजस्ता विद्युतीय उपकरणको रिचार्जेवल ब्याट्री उत्पादन गर्ने कम्पनीका रुपमा सुरु भएको थियो, जसले जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई बिस्थापन गर्ने काम गरेको थियो ।

सन् २००२ मा सेयर बजारमा आफ्नो सेयर बेच्न थालेको कम्पनीले सोही बेला संघर्षरत रहेको क्विनचुआन अटोमोबाइल कम्पनीलाई खरिद गरेर गाडी निर्माणमा प्रवेश गरेको थियो ।


क्लिकमान्डु