मधेस प्रदेशमा घरजग्गा किनबेच १४ प्रतिशतले घट्दा राजस्व संकलन २६ प्रतिशतले बढ्यो



काठमाडौं । मधेश प्रदेशमा घरजग्गाको कारोबार कम भए पनि राजस्व संकलन भने बढेको छ । गत आर्थिक वर्षमा प्रदेशमा घरजग्गा किनबेच १४.३० प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको प्रादेशिक आर्थिक गतिविधिको अध्ययनअनुसार आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा ३ हजार ६९२ वटा घर/भवन स्थायी नक्सा पास गरेको छन् । आव २०७८/७९ मा प्रदेशभरी ४ हजार ३०८ वटा घरजग्गाको नक्सा पास भएको थियो ।

त्यस्तै, घरजग्गा रजिष्ट्रेसन संख्यामा ७५.२७ प्रतिशतले ह्रास भएको छ । घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा भने २६.६ प्रतिशतले वृद्धि भएको छ ।

‘मधेश प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा ७५.२७ प्रतिशतले ह्रास आई १ लाख १० हजार ८६७ पुगेको छ । अघिल्लो वर्षको सोही वर्षमा उक्त घरजग्गाको संख्यामा १७.११ प्रतिशतले वृद्धि भएको थियो,’ अध्ययनमा उल्लेख छ ।

घर जग्गा रजिष्ट्रेशन राजस्व रकम २६.६ प्रतिशतले वृद्धि भई ४५ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो रकम ३३.२२ प्रतिशतले ह्रास आई ३६ अर्ब ७ करोड प्राप्त भएको थियो । नक्शा पास स्वीकृत संख्यामा १४.३० प्रतिशतले ह्रास भई ३ हजार ६९२ रहन गएको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो संख्या ४ हजार १ सय ३ रहेको थियो ।


क्लिकमान्डु