पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धन ६ महिनादेखि ठप्प, गाँठो फुकाउन अध्ययन समिति गठन



काठमाडौं । नेपाल पर्यटन बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन चालू आर्थिक वर्षको ६ महिनादेखि ठप्प छ । बोर्डले ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ स्वीकृत गराउन नसकेका कारण यो वर्ष अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न नसकेको बोर्डले दुईदिन अघि भने एक अध्ययन समिति बनाएको छ ।

बोर्डले अर्थ मन्त्रालयका प्रतिनिधि वालसागर गिरीको संयोजकत्वमा तीन सदस्यीय एक अध्ययन समिति गठन गरेको छ । बोर्ड सदस्य मदन आचार्य र कार्यकारी प्रमुख अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीसहितको उक्त अध्ययन समिति बनाएको छ ।

समितिले बोर्डको ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ स्वीकृत नहुँदा परेको असर, कार्यविधि नहुँदा बोर्डले गर्ने खर्च र भुक्तानीको लागि विकल्प खुलाउनसक्ने सहितका विषयमा प्रतिवेदन दिने गरी समिति गठन भएको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । उनका अनुसार बोर्डको बजेट आउन ढिलो भएको अवस्थामा गर्न सकिने विकल्प र अहिले परेको समस्याले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन ठप्प भएको विषयमा एक साताभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश समितिले पाएको छ ।

बोर्डले गत आर्थिक वर्ष २०७९/८० सम्ममा विगतमा गरिआएको अभ्यासका आधारमा हुने अन्तर्राष्ट्रिय प्रवद्र्धनको कार्यक्रम यो आव २०८०/८१ को लागि भने स्वीकृति दिएन । चालू आवमा कार्यविधि आएपछि मात्रै खर्च गर्ने भनिएको र उक्त कार्यविधि अहिलेसम्म सार्वजनिक खरिद अनुगमनको कार्यालयमा अड्किएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६७ ले पर्यटन बोर्डको काम सेवा खरिद गर्ने भएकोले यसको विदेशमा हुने कार्यक्रमका लागि कार्यविधि बनाउनुपर्ने र सो कार्यविधि स्वीकृत गरेरमात्रै कार्यक्रम गर्नुपर्ने व्यवस्था भएको छ । सोही व्यवस्थाअनुसार २०७४ मै बोर्डले उक्त कार्यविधि बनाएर सर्वजनिक खरिद अनुगमन कार्यालयमा पेस गरेको थियो । सो कार्यविधि अब सार्वजनिक खरिद कार्यालयबाट सुझावसहित पर्यटन मन्त्रालय अहिलेसम्म नपठाएकोले बोर्ड समस्यामा परेको हो ।

यो कार्यविधि अनुगमन कार्यालयले स्वीकृति दिएपछि पर्यटन मन्त्रालयमार्फत स्वीकृतिका निम्ति मन्त्रिपरिषद् नै जानुपर्ने भएको छ । चालू आर्थिक वर्षको ६ महिनासम्म पनि कार्यविधि नभएकै कारण बोर्डले कुनै पनि अन्तर्राष्ट्रिय प्रवर्धनात्मक काम गर्न नपाएको गुनासो गरेको छ । बोर्डको कामै नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्धन गर्न र विदेशी पर्यटक नेपाल भित्र्याउने हो। कार्यविधि नआउँदा बोर्डले मुख्य काम नै प्रभावित भएको छ ।

पर्यटन बोर्डको चालू आव २०८०/८१ को बजेटले सार्वजनिक खरिद अनुगमन कार्यालयमा पेस भएको कार्यविधि स्वीकृत गर्न पहल गर्ने र उक्त कार्यविधिउपर सहमति आएपछि मात्रै बजेट कार्यान्वय गर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अहिलेसम्म स्वीकृत नहुँदा बोर्ड समस्यामा परेको उल्लेख छ ।

उक्त कार्यविधि ३ वर्षसम्म स्वीकृत नभएको र कुनै प्रतिक्रिया पनि नआएपछि बोर्डले पुनः २०७७ मा पर्यटन मन्त्रालयमार्फत् उक्त कार्यविधि दोहोर्याएर पठाएको पर्यटन बोर्डले जानकारी दिएको छ । पहिले पर्यटन बोर्डले सोधै पठाएको कार्यविधिलाई कुनै वास्ता नगरिएपछि फेरि आवश्यक संशोधनसहित पर्यटन मन्त्रालयमार्फत् पठाएको पर्यटन बोर्डको भनाइ छ ।


क्लिकमान्डु