तीन निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणको कारबाही, २ लाखका दरले जरिवाना



काठमाडौं । उधारोमा बीमा तथा बीमितको आम्दानी स्पष्ट नखुलाई बीमा गराएको भन्दै नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ।

प्राधिकरणले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड इन्स्योरेन्सलाई कारबाही गरेको हो ।

अनुगमनमा ती कम्पनीले कानुन उल्लंघन गर्दै उधारोमा बीमा गराउने,आम्दानी नखुलाई बीमा गराउने गरेको पाइएपछि प्राधिकरणले सचेत गराएर छोडेको थियो ।

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले दुई पटकसम्म सचेत गराउँदा पनि उधारो बीमा तथा आम्दानी स्पष्ट नखुलाई बीमा गर्न नछाडेकोले कारबाही गरिएको जानकारी दिए । ‘निरन्तरको अनुगमनमा तीनवटै कम्पनीमा कैफियत देखिएपछि हामीले कारबाही गर्ने निर्णय गरेका हौँ,’ उनले भने ।

मंगलबारको सञ्चालक समितिको बैठकले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड इन्स्योरेन्सलाई २ लाख रुपैयाँका दरले जरिवाना गराउने निर्णय गरेको हो ।


क्लिकमान्डु