दक्षिण कोरियाली नेता लिमाथि चक्कु प्रहार



एजेन्सी । दक्षिण कोरियाली प्रमुख प्रतिपक्षी दलका नेता लि जेइ म्युंगलाई चक्कु प्रहार भएको छ ।

दक्षिण कोरियाको दक्षिणी शहर बुसानमा मंगलबार भ्रमणका लागि गएका उनमाथि सोही क्रमममा चक्कु प्रहार भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

लिले गाडेओक्डोको नयाँ एयरपोर्टको अवलोकन गरिरहेको क्रममा उनलाई घाँटीको देब्रे पट्टि चक्कु प्रहार गरिएको हो । उक्त घटनापछि उनी रगताम्य भए पनि होसमा नै भएको बताइएको छ ।

लि आवद्ध रहेको डेमोक्रेटिक पार्टीकाअनुसार उनलाई होसकै अवस्थामा अस्पतालमा लगिएको हो । उनको स्वास्थ्यको अवस्था र उपचार के कसरी भइरहेको छ भन्ने विषयमा भने थप विवरण केही समयपछि आउने पार्टीका अर्का नेता होंग इक प्योले बताएका छन् ।

लिलाई चक्कु प्रहार भएको घटना भिडियोमा पनि कैद भएको छ, जसमा एक अपरिचित व्यक्तिले अचानक भिडबाट उनीमाथि झम्टिएर चक्कु प्रहार गरेको देखिएको छ । चक्कु प्रहार गर्ने व्यक्तिलाई त्यहाँ उपस्थित व्यक्तिहरुले पक्रिएर भुँईमा लडाएका थिए ।

लिमाथि भएको यस्तो प्रहारको विषयलाई लिएर दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओलले विशेष रुपमा चिन्ता प्रकट गरेका छन् ।


क्लिकमान्डु