नबिल बैंकले ४३.८३% ले घटायो सीईओको तलब भत्ता, सञ्चालकको खर्च बढ्यो



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो । गत आवको सोही अवधिमा बैंकले सीईओलाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएर १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ दिएको जनाएको छ ।

बैंकले सीईओलाई गत आवमा अल्पकालीन कर्मचारी लाभबापत १ करोड ५१ लाख २८ हजार ६३३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

जसमा तलब बापत मात्रै गत आवमा सीईओलाई ७९ लाख २० हजार, अन्य लाभ र सुविधाबापत ७२ लाख ८ हजार ६३३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ ।

हाल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् । उनी बैंकमा २०७९ असार १७ गतेदेखि सीईओ रहेका छन् । उनले तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।

यस्तै बैंकले सञ्चालकका लागि गरेको खर्च भने बढेको छ । बैंकले सञ्चालकका लागि गर्ने गत अघिल्लो आवको तुलनामा गत आवमा १४.५६ प्रतिशतले बढेको छ ।

अघिल्लो आवमा बैंकले सञ्चालकको भत्ता बापत ९८ लाख ५५ हजार ६२२ रुपैयाँ खर्च गरेको थियो । गत आवमा १ करोड १२ लाख ९० हजार ७०५ रुपैयाँ खर्च गरेको छ ।

सञ्चालक समितिका सदस्यले कार्यकारी सरहको सुविधा नलिएको बैंकले जनाएको छ । बैंकले सञ्चालकहरुलाई भुक्तानी गरिएको भत्तामा पत्रपत्रिका तथा सञ्चार खर्च बापत भुक्तानी गरिएको रकम समेत समावेश गरेको जनाएको छ ।

अन्य खर्चमा नेपालमा बसोबास नगर्ने सञ्चालकहरु बैठकमा सहभागी हुन नेपालमा आउँदा लागेको भ्रमण खर्च, बसोबास खर्च तथा दैनिक भ्रमण भत्ताको सोधभर्ना गरेको जनाएको छ ।


क्लिकमान्डु