फर्केर हेर्दा २०२३: युद्धको वर्ष



सन् २०२३ को अन्तिम दिनमा विगतको वर्षलाई फर्केर हेर्दा विश्व राजनीति युद्धको चपेटामा परेको भन्न सकिन्छ । यस अवधिमा रुस–युक्रेन युद्ध र इजरायल–हमास द्वन्द्वले संसारभरिको ध्यान आकर्षित गर्‍यो ।

सन् २०२२ को फेब्रुअरीबाट शुरू भएको रुस–युक्रेन युद्ध यो वर्ष पनि जारी रह्यो । युद्ध अन्त्य हुने कुनै संकेत पाइएको छैन यद्यपि युक्रेनको स्थिति नाजुक रहेको भनी उसका समर्थक पश्चिमीहरूले स्वीकार गरिरहेका छन् ।

यस वर्षको पहिलो ६ महिनामा पश्चिमले रुसविरुद्ध युक्रेनको प्रत्याक्रमण कारवाही सफल भई रुस पराजित हुनेछ भनी फुर्ती लगाएका थिए । तर आफ्ना अघिल्ला गल्तीहरूबाट पाठ सिकेको रुसले युक्रेनलाई प्रतिरक्षा पंक्ति छेड्नै दिएन । उल्टो, रुसले पूर्वी युक्रेनको मारीन्का शहरमा नियन्त्रण कायम गरेको छ । उक्त नियन्त्रण महत्त्वपूर्ण छ किनकि युक्रेनले त्यहीँबाट डोनेत्स्कमा बस्ने रुसीभाषीहरूमाथि लगातार आक्रमण गरी जनधनको क्षति पुर्‍याइरहेको थियो ।

युक्रेन अब डुब्दो जहाज हो भन्ने अनुभव गरेपछि उसको सबभन्दा ठूलो समर्थक अमेरिकाले पनि सहयोग घटाउन थालेको छ । राष्ट्रपति जो बाइडनले युक्रेनलाई अन्तिमसम्म सहयोग गर्ने (याज लङ याज इट टेक्स) भनिरहेको भए पनि अहिले आएर आफूहरूले सकेसम्म सहयोग गर्ने (याज लङ याज वी क्यान) भन्न थालेका छन् ।

विपक्षी रिपब्लिकनहरूले युक्रेनलाई दिँदै आएको सहयोग रोकेकाले बाइडनलाई अब युक्रेन युद्ध तन्काउन गाह्रो पर्ने देखिएको छ । युरोपेलीहरूलाई पनि अब यो युद्ध घाँडो भइसकेको देखिन्छ । पश्चिमले युक्रेनलाई आफ्नो भूमि छोडेर रुससँग शान्तिवार्ता लगाउने सम्भावनाका बीच शायद सन् २०२४ मा यो युद्ध अन्त्य हुन सक्छ ।

युक्रेन युद्धमा अमेरिका नेतृत्वको नेटो पराजयको संघारमा पुगिरहेको बेलामा लामो समयदेखि तनावग्रस्त रहेको पश्चिम एसिया पुनः युद्धको भुमरीमा फसेको छ । अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले चलाएको जवाफी कारवाहीमा परी २० हजारभन्दा बढी प्यालेस्टाइनीहरूले ज्यान गुमाइसकेका छन् । मर्नेमा अधिकांश महिला तथा बालबालिका छन् ।

इजरायली सेनाले प्यालेस्टाइनीहरूको क्रूर हत्या गर्ने अनि नग्न बनाउने, यातना दिने, धर्मको अपमान गर्ने क्रियाकलापहरू दिनदिनै सामाजिक सञ्जालमा अप्लोड भइरहँदा अहिले संसारभरि इजरायल र उसको समर्थक अमेरिकाविरुद्ध आक्रोशको लहर छ । ब्रिक्स सदस्य दक्षिण अफ्रिकाले त इजरायलका विरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा नरसंहारको मुद्दा समेत दर्ता गराएको छ ।

तर यसका बावजूद युद्ध जारी छ । यो युद्ध प्यालेस्टाइनको गाजामा मात्र सीमित नरही सम्पूर्ण पश्चिम एसियामा फैलिने खतरा बढेको छ । यमनका अनसरल्लाह (हूती) समूहले लाल सागरमा इजरायली मालवाहक जहाजहरूमाथि लगातार क्षेप्यास्त्र आक्रमण गरेपछि विश्वको आपूर्ति शृंखलामा समस्या आएको छ । त्यसको प्रतिकारका लागि अमेरिकाले विभिन्न मुलुकहरूलाई अपरेशन प्रोस्पेरिटी गाडिएन नामक कारवाहीको साझेदार बनाउन खोजेको भए पनि त्यसमा शक्तिशाली मुलुकहरू जोडिन नचाहेपछि त्यो असफल भएको छ ।

यसैबीच युद्धको दायरा फराकिलो बनाउने उद्देश्यका साथ इजरायलले हूतीहरूको समर्थक मुलुक इरानको अर्धसैनिक बल इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सका वरिष्ठ कमान्डर राजी मोसावीलाई सिरियामा हत्या गरेको छ । इरानीहरूले यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् । लिन्डसे ग्राहमजस्ता अमेरिकाका युद्धपिपासु राजनीतिकर्मीहरूले इरानलाई बम हानेर ध्वस्त पार्नुपर्ने भड्काउ अभिव्यक्ति दिइरहेको अवस्थामा सन् २०२४ मा समेत पश्चिम एसियामा युद्धको कालो बादल मडारिइरहने देखिन्छ ।

यी दुई मुख्य युद्धहरूका कारण विश्व राजनीति तरंगित भइरहेको अवसरमा भेनेजुएलाले आफ्नो भूराजनीतिक प्रभाव बढाउन खोजेको छ । छिमेकी मुलुक गायानाको ठूलै भूभागमा उसले दाबी प्रस्तुत गर्दा युद्धको स्थिति बनेको छ ।

तेलको विशाल भण्डार रहेको इसेकिबो भूभागमा भेनेजुएलाले १९औं शताब्दीदेखि नै दाबी गर्दै आएको छ तर त्यो अहिले गायानाको नियन्त्रणमा छ ।

गायानालाई सहयोग गर्नका लागि बेलायतले युद्धपोत पठाएपछि भेनेजुएलाले त्यसको प्रतिकारमा ५ हजार सैनिकहरू तैनाथ गरेको छ । तर अमेरिकाले यो युद्ध भड्किन नदिनका लागि प्रयास गर्ने देखिन्छ किनकि आफ्नो छिमेकमा तेलको भण्डार रहेका मुलुकबीच युद्ध हुँदा त्यसको दुष्परिणाम कहालीलाग्दो हुने कुरा उसले बुझेको छ ।

अझ, अहिले अमेरिकाले रुसी ऊर्जाको विकल्पका रूपमा भेनेजुएलाको तेल उपयोग गर्न खोजेकाले उसमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ । त्यसैले युद्धको धम्कीमार्फत कूटनीतिक लाभ उठाउने भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको प्रयासका रूपमा अहिलेको शक्तिप्रदर्शनलाई लिन सकिन्छ । तैपनि विश्वमा अमेरिकी प्रभुत्व कमजोर बनिरहेको बेलामा सन् २०२४ मा यो युद्ध चर्किन सक्ने सम्भावनालाई पूरै नकार्न सकिन्न ।

उता ककेसस क्षेत्रमा अजरबैजान र आर्मेनियाबीच सन् २०२३ को सेप्टेम्बरमा छोटो युद्ध भएको थियो । युद्धपछि अजरबैजानले दुई देशबीचको विवादित नागोर्नो–काराबाख क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको छ । त्यहाँ रहेका आर्मेनियाली मूलका एक लाखभन्दा बढी मानिस पलायन भएका छन् । तर रुसको मध्यस्थतामा दुई देशका प्रमुखबीच शान्तिवार्ता चलिरहेको र त्यो सकारात्मक दिशातर्फ बढिरहेको सन्दर्भमा अब पुनः तत्कालै युद्ध भड्किने स्थिति देखिँदैन ।

सन् २०२३ दुई ठूला महाशक्ति अमेरिका र चीनबीचको तनाव र उक्त तनाव घटाउनका लागि गरिएका प्रयासमा पनि केन्द्रित रह्यो । वर्षको आरम्भमा अमेरिकी भूमिमाथिको आकाशमा पुगेको मौसमको जानकारी संकलन गर्ने चिनियाँ बलूनलाई जासूसी उपकरण भनी होहल्ला मच्चाइएपछि अमेरिकी वायुसेनाले क्षेप्यास्त्र प्रहार गरी त्यसलाई खसाएको थियो ।

त्यस प्रकरणले गर्दा चीन र अमेरिकाबीचको सम्पर्क ठप्प भएको थियो । पछि गएर सम्बन्धमा थोरै सुधार भयो र चीनका राष्ट्रपति सी चिनपिङ एसिया पसिफिक इकोनोमिक कोअपरेशनको शिखर सम्मेलनमा सहभागी हुन अमेरिका पुगे ।

तर अमेरिकी राजनीतिकर्मीहरूले चीनका विरुद्ध लगातार विषवमन गर्र्दै आइरहेको अनि अमेरिकाले फिलिपिन्सलाई चीनको घेराबन्दीका लागि उपयोग गर्न थालेकाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने खासै सम्भावना देखिँदैन । ताइवानको विषयमा चीन र अमेरिकाबीचको मतभेद कायम रहँदा सन् २०२४ मा समेत दुई महाशक्तिबीचको चिसोपनाले निरन्तरता पाउने देखिन्छ।

यी सबै घटनाक्रमलाई नियाल्दा सन् २०२३ मा विश्व राजनीतिको निराशाजनक तस्वीर बन्न पुग्छ । महाशक्ति तथा क्षेत्रीय शक्तिहरूले आफ्नो परिधीय इलाकाबाट अमेरिकीहरूलाई हटाउन खोजेको अनि अमेरिकाले आफ्नो प्रभुत्व कायम गर्नका लागि संघर्ष गरिरहेको स्थितिका कारण युद्धहरू भइरहेका हुन् ।

सन् २०२४ मा अमेरिकी एकध्रुवीयताका विरुद्ध गैरपश्चिमी बहुध्रुवीयता पक्षधरहरूको संघर्ष कायम रहनेछ । कथंकदाचित् अमेरिकाले पश्चिम एसियाको युद्धलाई मत्थर बनाउन सकेछ भने पनि ताइवान र दक्षिण चीन सागरमा अमेरिका र चीनबीचको शीतयुद्ध हतियार हानाहान गर्ने युद्धमा परिणत हुने खतरा विद्यमान छ । त्यसैले सन् २०२४ मा पनि युद्धले नै विश्व राजनीतिलाई छायाँमा पार्ने देखिँदैछ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।