उद्योगीबाट बिल काटेको पैसा लिन्छौं, नलिनुपर्ने भए कुनै निकायले भनिदिनुपर्‍यो: कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगबाट बिल काटेअनुसारको पैसा लिने स्पष्ट पारेका छन् ।

‘उद्योगीले सबै महसुल तिर्नुपर्छ, प्राधिकरणले एक रुपैयाँ पनि छाड्दैन,’ डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा प्रस्ट पार्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘लिनुपर्ने पैसा लिनकै लागि बिल पठाएको र लाइन काटिएको हो ।’

बिजुलीको पैसा नलिनुपर्ने भए ऊर्जा मन्त्रालय, विद्युत नियमन आयोगलगायतका सम्बन्धित निकायले भनिदिनुपर्ने उनले बताए ।

प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली लिएका ६१ उद्योगीबाट मंसिरर मसान्तसम्ममा २२ अर्ब २४ करोड रुपैयाँ लिन बाँकी छ । यसमध्ये हाल लाइन काटिएका ९ वटा उद्योगीले मात्रै १२ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको घिसिङले बताए ।

सांसदले उद्योगीबाट महसुल उठाउन नसके कुलमानलाई निलम्बन किन नगर्ने भनेर प्रश्न उठाएपछि बाध्य भएर लाइन काटेको उनको प्रस्टोक्ति छ ।


क्लिकमान्डु