डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ मुद्दा प्राधिकरणको पक्षमा फैसला भए, हामीले ठीक गरिरहेका छौंः कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले बाध्य भएर उद्योगको लाइन काट्नु परेको बताएका छन् ।

‘अब यो विषय विद्युत प्राधिकरण र मन्त्रिपरिषदको मात्रै रहेन, संसदीय समिति, अख्तियार, महालेखा र अदालतको विषय बनेको छ । कुनै निकायले नतिर्नु भनेको छैन । किन नउठाएको भनेर मलाई सरोकारवाला निकायहरुबाट निरन्तर ताकेता भइरहेको छ,’ बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले भने ।

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ वटा मुद्दा प्राधिकरणको पक्षमा फैसला भएको जानकारी गराउँदै आफूहरुले ठीक गरिरहेको दाबी गरे ।

‘विगत डेढ महिनामा डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ वटा मुद्दा प्राधिकरणले जितिसकेको छ, ६ वटा मुद्दामा अन्तरिम आदेश जारी भएको, केही मुद्दा मात्रै चलिरहेका छन्,’ उनले भने ।

अदालतले डेडिकेटेड र ट्रंक लाइनका विषउमा प्राधिकरणले जुन विल जारी गर्यो, त्यो ठीक हो र विद्युत महशुल निर्धारण आयोगले लगाएको शुल्क पनि ठीक हो भनेको कुलमानले दाबी गरे ।

यो विषयमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षतामा भएको पुनरावलोकन समितिमा जानुपर्ने व्यवस्था छ । उद्योगहरु पुनरावलोकनमा नगएको भन्दै अदालतले उहाँहरुको मुद्दा खारेज भएको हो ।

‘अदालतले पनि उठाउनू भनेपछि हामी कसरी नउठाई बस्न सक्छौं ?’ उनले भने ।


क्लिकमान्डु