हर्क साम्पाङले कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको किन राखे ?



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो हटाएका छन् ।

केही दिन अघि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘धरानलाई कि त विकास देउ नत्र स्वायत्तता देउ ! स्वायत्तता दिए मिमेरुको केही चाहिँदैन हाम्लाई! स्वतन्त्र राज्य बनाउन नपरोस् ! विचार चोङ्गे !’

त्यसको भोलिपल्ट उनले आफूले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्ने र संघले जुन दिन धरानलाई महत्व दिन्छ त्यो दिन पुन: उनीहरुको फोटो टास्ने चेतावनी दिएका थिए ।

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’

घोषणा बमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो राखेका छन्। साम्पाङ् किराँत राई भएकाले उनले यलम्बरको फोटो राखेका हुन् ।

यलम्बर प्रथम किराँती राजा हुन् । जसले किराँतहरूको रहनसहन व्यापार लगायत रीतिथिति संस्कार संस्कृति जोगाउने कार्य गरेको इतिहासमा उल्लेख छ ।

यसअघि प्रदेश १ का तत्कालीन स्वास्थ्य मन्त्री जयराम यादवले पनि आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका थिए ।


क्लिकमान्डु