हमालले नियतवश बैठक छले, भविष्यमा सार्वजनिक पदमा बस्न अयोग्य बनाउनु पर्छ: योगेश भट्टराई



काठमाडौ । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले घाटामा गएका कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न दिएर नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनले नियामक धितोपत्र बोर्डले केहीको स्वार्थमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए ।

सांसद भट्टराईले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आजको बैठकमा उपस्थित नभएको भन्दै भने, ‘बिदामा बसेको भनेर संसदीय समितिको बैठकमा नआउनु नियतबस छलेको हो । नियामक निकाय कहिले बिदा बस्ने भनेर उल्लेख छ । धेरै प्रश्नको जवाफ दिनु पर्छ भनेर नआएको हुन सक्छ ।’

सार्वजनिक लेखा समितिको अवहेलना गर्नेलाई भविष्यमा सार्वजनिक पदमा बस्न अयोग्य बनाउनु पर्ने भट्टराईले तर्क गरे ।

नियमावलीको संशोधन गरेर तीन वर्षको ठाउँमा २ वर्ष बनाउनुमा गलत नियत रहेको उनको दाबी छ ।
तीन वर्ष हुँदा लगानिकर्ताको, कम्पनीको कहाँ अहित भयो, २ वर्ष बनाउँदा कहा हित भयो त्यो प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

सेबोन, बिमा प्राधिकरणले पछिल्लो समय गरेको निर्णय खारेजी गर्नुपर्ने र सेबोनको नियमावली खारेजी गरेर पुरानै कायम हुनुपर्ने उनले बताए ।

अध्यक्ष हमाल आज समितिबाट भागेपनि बोर्डका पदाधिकारी, अध्यक्ष माथि अख्तियारले छानबिन गर्न सक्ने भन्दै उनले त्यसका लागि समितिले पत्राचार गर्नुपर्ने माग गरे । समितिले आफ्नो ढंगलले पनि अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु