डेडिकेटेड ट्रंक लाइन विवादः २ बजे उद्योगीले प्रधानमन्त्री भेट्दै, कुलमानको पत्रकार सम्मेलन



काठमाडौं । डेडिकेटेड ट्रंक लाइन विवादका सम्बन्धमा आज (बिहीबार) २ बजे उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको कारण थप उद्योगको लाइन नकाट्न र महशुल विवादमा सहजीकरण गरिदिन आग्रह गर्दै उद्योगीले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् । उद्योगीहरुलाई बिहान ९ बजेको समय दिएका प्रधानमन्त्रीले कार्यव्यस्तता देखाउँदै दिउँसो २ बजेका लागि समय सारेका छन् ।

डेडिकेटेड र ट्रंक लाइनबाट लिइएको बिजुलीको शुल्क उद्योगीले तिर्न बाँकी रहेको र सो रकम नतिरेको भन्दै प्रधानमन्त्री दाहालकै निर्देशनमा प्राधिरणले उद्योगको लाइन काट्न शुरु गरिसकेको छ ।

उद्योगीले प्रधानमन्त्री भेट गरेकै समयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ बजे नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा आज पत्रकार सम्मलेन गरेर यथार्य जानकारी गराउने र उद्योगीले तिर्नुपर्ने रकमको प्रमाणसहित जानकारी दिने बताएको छ । प्राधिकरणको दाबी अनुसार विभिन्न ६१ वटा उद्योगले करिब २२ अर्ब रुपैयाँको हाराहारीमा रकम तिर्न बाँकी छ ।

उद्योगीहरुले भने आफूहरुले प्रयोग नै नगरेको बिजुलीको विल प्राधिकरणले पठाएको भन्दै विल अस्वीकार गर्दै आएका छन् । उद्योगीहरुले प्राधिकरणले टीओडी मिटरको तथ्यांक देखाएर प्रयोग गरेको प्रमाण दिनसके मात्रै विल तिर्ने बताउँदै आएका छन्।

अहिलेसम्म प्राधिकरणले टीओडी मिटरको तथ्यांक देखाउन सकेको छैन । तर, बिनाप्रमाण काटेको फर्जी विलको भुक्तानी नभएको भन्दै प्राधिकरणले धमाधम बिजुलीको लाइन काटेपछि यो विवाद थप चर्चामा आएको हो ।

उद्योगीहरुले सत्ता साझेदारसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर गुनासो गरिसकेका छन् ।

सीमित पत्रकार बोलाएर नेपाल विद्युत् प्राधिकरणले बुधबार (हिँजो) दिउँसो १ बजेका लागि गर्न खोजेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेको थियो । पत्रकार सम्मेलन गर्ने भनेपछि १५ जनाजति मिडियाकर्मी बुधबार दिउँसो प्राधिकरण पुगिसकेका थिए । प्राधिकरणले पत्रकार सम्मलेन गर्ने भनेर मितिसहितको ब्यानरसमेत टाँसिसकेको थियो । प्राधिकरणले चाहेको भन्दा बाहेकका पनि मिडियाकर्मी पुगेपछि प्राधिकरणका एक कर्मचारीले हतार हतार ब्यानर बन्द गरेका थिए ।


क्लिकमान्डु