पूर्वडीआईजी शाह भ्रष्टाचारी ठहर



काठमाडौं । पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले अवकाशप्राप्त डीआईजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतले शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।

आरोप लागेका प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

उनीहरुलाई तीन वर्षभन्दा माथि कैद सजाय हुनेछ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले पुस २५ का लागि अर्को पेसी तोकिएको छ ।

अख्तियारले २०७६ फागुन २० गते शाहसहित लेखापाल पनेरुलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा अख्तियारले भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।


क्लिकमान्डु