नेपाल इन्स्योरेन्सको सेयर मूल्य अहिलेसम्मकै धेरै, किन लाग्यो सकारात्मक सर्किट ?



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट मात्रै नभएर सेयर मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । यो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३ रुपैयाँले बढेर १ हजार २३ रुपैयाँ पुगेको छ । बुधबारको कारोबारमा कम्पनीको १ लाख ३ हजार १३२ कित्ता सेयर ९ करोड ८९ लाख ४५ हजार ८३६ रुपैयाँमा किनबेच भएको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले पुस १३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर २८ गते नै बुक क्लोज गरिसकेको छ । पुस २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको तोकेको लाभांश पाउनेछन् भने सभामा भाग समेत लिन पाउनेछन् ।

निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म लाभांश घोषणा गर्ने र पुस मसान्त भित्र साधारणसभा गर्ने यो पहिलो कम्पनी हो । अन्य कम्पनीले लाभांश पनि घोषणा गरेका छैनन् भने साधारण सभा समेत बोलाएका छैनन् ।

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । नेपाल इन्स्योरेन्सको पनि चुक्ता पुँजी पुगेको छैन । कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद सेयरको अपेक्षामा रहेका लगानीकर्ताका कारण पनि कम्पनीको सेयर मूल्यले रेकर्ड कायम गरेको बताइन्छ ।


क्लिकमान्डु