तीन दिन लगातार घट्यो सेयर बजार, बुधबार १७ अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन कारोबार दिन लगातार ओरालो लागेको छ । बिहीबार ३२ र आइतबार २१ अंकले घटेको बजार बुधबार १७ अंकले घटेको हो । आज नेप्से परिसूचक १७.२३ अंकले घटेर दुई हजार ७० दशमलव ८४ अंकमा झरेको छ ।

आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता सेयर एक लाख १७ हजार चार सय ७६ पटक खरिद-बिक्री हुँदा पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ रुपैयाँबराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह एक दशमलव १६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा दुई दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ ।

बजार घट्दा पनि चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ६६ लाख ६४ हजार सात सय ९३ रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख सात हजार सात सय ७५ कित्ता सेयर किनबेच भएको छ ।


क्लिकमान्डु