जगदम्बा स्टिलका ३५ सय मजदुरले विद्युत् प्राधिकरणको कार्यालय घेराउ गर्ने



काठमाडौं । उद्योगको बिजुली काटिएको विरोधमा जगदम्बा स्टिलका ३५ सय मजदुरले भोलि (मंगलबार) विद्युत् प्राधिकरणको सिमरास्थित सबस्टेसन रहेको कार्यालय घेराउ गर्ने भएका छन् ।

प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड लाइनबाट बिजुली प्रयोग गरेवापतको पैसा नतिरको भन्दै शुक्रबार लाइन काटिदिएपछि यसको विरोधमा जगदम्बा स्टिलका कर्मचारी आन्दोलनमा उत्रिने भएका हुन् । प्राधिकरणको दावी अनुसार जगदम्बा स्टिलले ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

जगदम्बा स्टिलका सञ्चालक शाहिल अग्रवालले विद्युत् प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण (टीओडी मिटर) नै नदिइ फर्जी बिल पठाएको र उक्त पैसा नतिर्दा लाइन काटेकोमा असन्तुष्टि जनाउँदै उद्योगका मजदुरले प्राधिकरणको कार्यालय घेर्न जाने घोषणा गरे ।

नेपाल उद्योग परिसंघले सोमबार राजधानीमा आयोजना गरेको डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी शुल्क सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा अग्रवालले प्राधिकरणले उद्योग बन्द गराएर अन्याय गरेकोले यसको बिरोधमा मजदुर अगाडि सरेको पनि बताए ।

‘बिजुली काटिएपछि भएको उद्योग बन्दले जगदम्बा स्टिलका मात्रै साढे ३ हजार मजदुर ३ दिनदेखि कामबिहिन भएका छन्, प्राधिकरणको अत्याचारका कारण कामबिहिन भएका मजदुरहरु भोलि सिमरा सबस्टेशन घेराउ गर्न जाने भएका छन्,’ अग्रवालले भने ।

दैनिक डेढदेखि २ हजार टन स्टिल उत्पादन गर्ने उद्योग बन्दा हुँदा दैनिक २ देखि साढे २ करोड रुपैयाँ नोक्सान भइरहेको अग्रवालको भनाइ छ ।

‘यो उद्योगले दैनिक ४० देखि ४५ मेगावाट बिजुली खपत गर्दै आएको थियो । उद्योग ठप्प हुँदा समग्र अर्थतन्त्रमा समस्या आउने र भोलिका दिनमा स्टिल अभाव भएर मूल्य बृद्धि हुने हुन सक्छ,’ उनले भने ।

प्राधिकरणको बिजुली काट्ने निर्णयले स्टिल उद्योगमात्रै नभएर सिमेन्ट र धागो पनि बजारमा अभाव हुने र मूल्य वृद्धिको हुन सक्ने भएकोले प्राधिकरणको निर्णय गलत भएको ठहर अग्रवालको छ ।


क्लिकमान्डु