उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगको काटिएको विद्युत सुचारु गर्न सरकारसँग माग गरेको छ ।

बिजुली महसुल भुक्तानी नगरेको अभियोगमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार केही ठूला उद्योगको बिजुली आपूर्तिमा रोक लगाएको थियो ।

संघले आइतबार बिज्ञप्ती जारि गर्दै लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महशुल थप गरी बिल पठाएको औल्याएको छ ।

‘बिजुली उपभोग गरेको प्रमाण दिन नसकेको तर्क गरिरहेको अवस्थामा प्राधिकरणबाट उक्त गुनासो सम्बोधन नै नगरी लाइन काट्नेजस्तो गम्भिर कदम चालिनु अन्यन्तै दुःखद छ,’ बिज्ञप्तीमा संघका महासचिब अनिलकुमार अग्रवालले भनेका छन्,‘यसले गर्दा आर्थिक मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेका उद्योग, व्यवसायमा गम्भिर धक्का लाग्ने र उद्यमी व्यवसायीको मनोवल झनै खस्किने संघको निष्कर्ष छ ।’

यसअघि टं«क लाइन र डेडिकेटेड फिडरको महशुलको बहानामा विद्युत आपूर्ति नरोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको बताउँदै महासचिब अग्रवालले भने,‘पछिल्लो समयमा प्रधानमन्त्रीबाटै लाइन काट्ने निर्देशन हुनु र प्राधिकरणले एक्कासी लाइन काट्दा सिंगो निजी क्षेत्र त्रसित बनेको छ । उद्योग, व्यवसायका लागि उपयुक्त वातावरण दिएर मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने बिषयमा अभिभावकीय भूमिका खेल्नुपर्ने सरकार र सरकारी निकायबाटै व्यवसायीलाई तर्साउने खालको कदम चालिंदा मुलुकको सर्वार्गिण विकासका लागि अति आवश्यक स्वदेशी र विदेशी लगानी प्रभावित हुने निश्चित छ ।’
संघले उद्योग र प्राधिकरण दुवै पक्षले जित्ने गरी यथाशीघ्र उचित सम्बोधन गर्न, विद्युत आपूर्ति काटिएका उद्योगमा तत्काल आपूर्ति सुचारु गर्न र कुनै पनि बहानामा उद्योगमा आपूर्ति नरोक्न माग गरेको छ ।


क्लिकमान्डु