ट्रम्प नरम भएपछि रुसी तेल ट्यांकर क्युबा पुग्यो, नाकाबन्दीबाट राहत

301
Shares

एजेन्सी । कच्चा तेलले भरिएको एउटा रुसी ट्यांकर क्युबाली जलक्षेत्रमा प्रवेश गरेको छ र सोमबारसम्ममा बन्दरगाहमा पुग्ने अपेक्षा गरिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यस क्यारिबियाली टापुमा लगाइएको व्यावहारिक तेल नाकाबन्दी खुकुलो गरेको देखिएका बेला यसले क्युबाका लागि जीवनदानको काम गर्न सक्छ ।

जहाज ट्य्राकिङ डेटाले देखाएअनुसार, रुसी झण्डावाहक ट्यांकर अनातोली कोलोदकिन आइतबार क्युबाको पूर्वी छेउ नजिकै थियो । क्युबाको आधिकारिक समाचार साइट क्युबाडिबेटका अनुसार, यो सोमबार मातान्जास बन्दरगाहमा पुग्ने तालिका थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै क्युबामा तेल जान दिने सम्बन्धमा नयाँ लचकताको संकेत दिएका छन् । उनले भने, ‘कुनै देशले अहिले क्युबामा केही तेल पठाउन चाहन्छ भने चाहे त्यो रुस होस् वा नहोस् मलाई कुनै आपत्ति छैन ।’

अहिलेसम्म ट्रम्पले हवाना सरकारलाई दबाब दिने प्रयासमा क्युबा जाने सबै तेल ढुवानीलाई प्रभावकारी रूपमा रोकेका थिए र हवाना विरुद्ध शृंखलाबद्ध धम्कीपूर्ण बयानहरू पनि जारी गरेका थिए ।

न्युयोर्क टाइम्सले यस मामिलामा जानकारी पाएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी तटरक्षक बलले उक्त प्रतिबन्धित जहाजलाई क्युबातर्फ जान अनुमति दिएको रिपोर्ट गरेको छ यद्यपि यसको कारण स्पष्ट छैन । ट्यांकरलाई बलपूर्वक रोक्दा भू–राजनीतिको यो नाजुक समयमा रुससँगको द्वन्द्वको जोखिम बढ्न सक्थ्यो ।

रुसी जलसेनाले उक्त प्रतिबन्धित जहाजलाई क्यारिबियनतर्फ आउने क्रममा इंग्लिस च्यानल हुँदै सुरक्षा दिएर ल्याएपछि क्युबाडिबेटले यस रुसी ढुवानीलाई अमेरिकी तेल नाकाबन्दीका लागि प्रत्यक्ष चुनौती भनेको छ ।

जे भए पनि यस तेललाई क्युबाले स्वागत गर्नेछ । उसले अमेरिकी तेल नाकाबन्दीका बीच पेट्रोलको कडा राशनिङ (कोटा प्रणाली) लागू गरेको छ र यो कम्युनिस्ट शासित टापुभरि ठूला विद्युत् कटौतीको सामना गरिरहेको छ ।

एलएसईजी जहाज–निगरानी डेटाका अनुसार, अनातोली कोलोदकिन ट्यांकर रुसको प्रिमोर्स्क बन्दरगाहबाट करिब ६ लाख ५० हजार ब्यारल कच्चा तेल लिएर प्रस्थान गरेको थियो । अन्य रिपोर्टहरूका अनुसार, जहाजमा ७ लाख ३० हजार ब्यारल तेल थियो ।

मार्चको सुरुतिर अमेरिकाले इरानसँगको अमेरिका–इजरायल युद्धका कारण अवरुद्ध भएको विश्वव्यापी तेल प्रवाहमा सुधार ल्याउन मद्दत पुगोस् भनेर रुसमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो गरेको थियो ।