उद्योगको बिजुली काटिएपछि महासङ्घले बोलायो आकस्मिक बैठक



काठमाडौं । सरकारले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक बैठक बोलाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बक्यौता रकम नदिएको अभियोगमा शुक्रबार चार उद्योगको डेडिकेटेड र ट्रंक लाइनको बिजुली काटेको थियो ।

प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको प्राधिकरण स्रोत बताउँछ ।

पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरे पनि नतिरेपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीको निर्देशन इच्छाअनुसार ठुला उद्योगहरूको लाइन काटेपछि प्रतिरोध गर्ने लक्ष्यसहित महासङ्घले बैठक बोलाएको हो ।

बैठकको नेतृत्व वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले गर्दैछन् । महासङ्घका अध्यक्ष भने काठमाडौँ बाहिर छन् । बैठकमा सम्बन्धित वस्तुगत सङ्घको सहभागिता रहने छ ।


क्लिकमान्डु