चाँदी आयातमा कोटाको व्यवस्थाले टेक्नो जय ज्वेलरीको व्यापार ३१ प्रतिशतले घट्यो



काठमाडौं । बजारको मागभन्दा चाँदीको आयात उच्च भएको भन्दै सरकारले कडाइ गर्दा सुनचाँदी कारोबार गर्ने कम्पनीहरुको व्यापारमा उच्च प्रभाव परेको छ ।

सरकारले चाँदी आयात गर्दा एक पटकमा ३५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले टेक्नो जय ज्वेलर्सको व्यापार ३१ प्रतिशतले घटेको छ ।

कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३१ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२३ मा कम्पनीले ७८ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६६ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले चाँदीको कच्चा पदार्थ होलसेलमा बिक्री वितरण गर्दै आएको छ । मोरङको विराटनगरमा रहेको उद्योगले दैनिक ३० हजार ग्रामको चाँदीको गहना र ज्वेलरी बनाउँदै आएको छ ।

कम्पनीले ग्राहकले अर्डर गरेअनुसारको चाँदीको गहनासँगै बजारमा बिक्री वितरणका लागि विभिन्न प्रकारका गहना बनाउँदै आएको छ । कम्पनीको देशभर ६ वटा आउटलेट छन् ।

कम्पनीको विराटनगरमा दुईवटा, काठमाडौं, भैरहवा, पोखरा र वीरगञ्जमा आउटलट छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६७ करोड १५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले एलसी खुलाएर कच्चा चाँदी आयात गर्दै आएको छ । कम्पनीले विशेषगरी दुबईबाट कच्च चाँदी आयात गर्दै आएको छ । त्यसबाहेक जिन्क र एलोजस्ता कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ ।

चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार निर्धारण हुँदै आएको छ । जसले गर्दा माग र आपूर्तिमा तलमाथि हुने गर्छ । देवकिसन मुन्डारा अध्यक्ष रहेको कम्पनीले सन् २०२३ मा ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२२ मा १ करोड १० लाख रुपैयाँ घाटा व्यहोरोको थियो ।


क्लिकमान्डु