सात दिनपछि ३२ अंकले घट्यो बजार, कारोबार रकममा भने उस्तै उत्साह



काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७ कारोबार दिनपछि घटेको छ । लगातार ७ दिनमा १९३.३ अंकले बढेको बजार बिहीबार ३२ अंकले घटेको हो ।

आज उत्पादनमूलक र व्यापारबाहेकका सबै समूह राताम्ये भएपछि समग्र बजार परिसूचक ३२.७७ अंकले घटेर २१०९.१ अंकमा झरेको छ ।

बजार घट्दा पनि बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त र चिरख्वा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै अन्य ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज ५० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १९१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । चारवटाको मूल्यमा कुनै परिवर्तन भएन ।

बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ । आज ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।

कारोबार रकम बुधबारको तुलनामा केही कम हो । बुधबार ७ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।


क्लिकमान्डु