नेप्सेमा एक वर्षपछि ७ अर्बमाथिको कारोबार, मंसिर २६ देखि बजार लगातार उकालो



काठमाडौं । सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वर्षपछि ७ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । २०७९ पुस २६ गतेपछि आज ७ अर्बमाथिको सेयर किनबेच भएको हो ।

एक वर्षअघि पुस २६ गते ७ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ७ अर्ब ९५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

सेयर बजार परिसूचक नेप्से मंसिर २६ देखि लगातार उकालो लागिरहेको छ । मंसिर २६ यताका सात कारोबार दिनमा नेप्से १९३.३ अंकले उकालो लागेको हो ।

नेप्से बुधबार पनि उत्साहजनक ढंगले बढ्यो छ । होटल र निर्जीवन बीमाबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ अंकमा उक्लिएको छ । होटल र निर्जीवन बीमा समूहका लगानीकर्ताले ‘प्रोफिट बुक’ गरेपछि ती समूह भने नकारात्मक बनेका छन् ।

उत्पादनमूलक समूह सबैभन्दा धेरै ७.१५ प्रतिशतले बढेको छ भने लगानी समूह ६.९२ र व्यापार समूह ६.२ प्रतिशतले बढेको छ ।

आज १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन डिस्टिलरी, फर्वड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, लबर्टी इनर्जी, युनाइटेड आईडीआई मर्दी, बलेफी हाइड्रो, बीपीडब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रो र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।


क्लिकमान्डु