गोल्यान ग्रुपले ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, २०२७ बाट सञ्चालनमा ल्याउने तयारी



काठमाडौं । गोल्यान ग्रुपले लुम्बिनीमा पाँच तारे होटल निर्माण गर्ने भएको छ । सन् २०२२ मा वेदा हस्पिटालिटी प्रालिमा दर्ता भएको कम्पनीले लुम्बिनीमा पाँचतारे होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले लुम्बिनीमा ४ अर्ब ६० लाख रुपैयाँ लगानीमा होटल निर्माण गर्ने भएको हो । २ लाख ९१ हजार ७९१ स्क्वायरफिटमा दुई सय कोठा सुविधाको होटल निर्माण गर्ने कम्पनीले जनाएको छ । होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, स्पा र क्यासिनोको सुविधा हुनेछ । साथै, कन्फरेन्स हल, खाना र बस्नलगायत अन्य विभिन्न सुविधा हुने कम्पनीले जनाएको छ ।

अपस्केल लेजर र वेडिङ डेस्टिनेशनका लागि पाँच तारे रिसोर्टको रुपमा आयोजना सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ ।
कम्पनीले आगामी सन् २०२७ को जुलाईदेखि व्यवसायिक कारोबार गर्ने अपेक्षा गरेको छ ।

होटल निर्माणका लागि कम्पनीले ३ अर्ब रुपैयाँ दीर्घकालीन कर्जाको लागि रेटिङ गराएको छ । कम्पनीले २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ भने १ अर्ब १ करोड ८० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ । कम्पनीले गत नोभेम्बरसम्ममा जग्गा अधिग्रहण गरी पहिलो चरणको कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

गोल्यान ग्रुपको कम्पनीहरुको व्यवस्थापन सौरभी गोल्यानले गर्दै आएकी छिन् । सौरभी गोल्यान ग्रुपको निर्देशक हुन् । त्यस्तै, ग्रुपले १५३ वटा कोठाको सुविधाको ‘हायत प्लेस’ पाँच तारे होटल सञ्चालन गरिरहेको छ ।

वेदा हस्पिटालिटीले अन्तर्राष्ट्रिय कम्पनी हायत होटल्स कर्पोरेशनको सहायक कम्पनी हायत इन्टरनेशनल साउथ वेस्ट एसिया लिमिटेडसँग होटल सञ्चालनका लागि सम्झौता गरी फ्रेनचाइज भित्र्याएको छ ।

कर्पोरेशनले ‘हायत रेजेन्सी’ ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ । होटलको विश्वभर २० वटा प्रिमियर ब्राण्ड र १३ सय वटाभन्दा बढी प्रोपर्टी ७६ देशमा छन् ।

विश्व सम्पदामा सूचीकृत लुम्बिनीमा पर्यटकको आगमन उच्च हुने गरेको छ । हरेक वर्ष उच्च संख्यामा पर्यटकहरु पुग्ने गरेकाले व्यवसायीहरुले होटल निर्माणमा जोड दिएका छन् । साथै, छिमेकी देश भारतका उत्तर प्रदेश र बिहारमा क्यासिनोमा गरेको कडा नियमहरूले गर्दा भारतीय सीमामा रहेका क्यासिनो गन्तव्यको लागि लुम्बिनी आकर्षक गन्तव्य हो ।

यो क्षेत्र नेपालका लागि कर्पोरेट बैठक, अफसाइट र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बनेको छ । त्यसैले कम्पनीलाई व्यवसायको लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ ।


क्लिकमान्डु