कात्तिक मसान्तसम्ममा बैंकले दिए साढे ६३ अर्ब सेयर कर्जा, नबिलको सबैभन्दा बढी



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । सञ्चालमा रहेका २० वाणिज्य बैंकमा १९ वटाले उक्त रकम सेयर धितोमा कर्जा दिएका हुन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन ।

यो अवधिमा सेयर धितोमा सबैभन्दा बढी कर्जा दिनेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम कर्जा दिनेमा नेपाल एसबिआई बैंक रहेको छ । नबिल बैंकले बैंकले १० अर्ब ९४ करोड ६३ लाख ६० हजार रुपैयाँ कर्जा दिएको छ ।

नबिल पछि सेयर धितोमा धेरै कर्जा दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ६ अर्ब २९ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएको छ ।

यस्तै एनआईसी एशिया बैंकले ४ अर्ब ६४ करोड ४४ लाख, नेपाल बैंकले ४ अर्ब ४५ करोड ३७ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड ३६ लाख, प्राइम बैंकले ४ अर्ब १२ करोड रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।

कात्तिक मसान्तसम्म सिद्धार्थ बैंकले ३ अर्ब ९६ करोड ५२ लाख, सिटिजन्स बैंकले ३ अर्ब ९१ करोड, कुमारी बैंकले ३ अर्ब ७७ करोड ५६ लाख, प्रभु बैंकले ३ अर्ब ६५ करोड ४१ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब २८ करोड ४४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।

यस्तै हिमालयन बैंकले २ अर्ब ५२ करोड ३४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ कर्जा दिएका छन् ।

राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले १ अर्ब ३६ करोड सानिमा बैंकले १ अर्ब २२ करोड ३३ लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड ९१ लाख, एनएमबि बैंकले १ अर्ब ६ करोड ४६ लाख, माछापुच्छ«े बैंकले ४९ करोड ८४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् भने नेपाल एसबिआई बैंकले २ करोड ३९ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।

अहिले लगानीकर्ताले सेयर धितो कर्जा लिँदा व्यक्तिगत रुपमा कुनै एक बैंक तथा वित्तीय संस्था वा समग्र बैंक तथा वित्तीय संस्थाबाट १५ करोडसम्म लिन सकिने व्यवस्था छ ।

यस्तै संस्थागत रुपमा अधिकतम २० करोडसम्म कर्जा लिन सकिने व्यवस्था छ । यसअघि सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत १५० प्रतिशतलाई घटाएर १२५ प्रतिशत बनाएको छ ।

यस्तै अहिले सेयर धितोमा जाने कर्जाको सीमा ७० प्रतिशत छ भने सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्यांकन गर्दा १२० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा कर्जा दिने व्यवस्था छ ।


क्लिकमान्डु