विमानस्थलका पसलका सामान अब बाहिरजस्तै सस्तो हुने, प्याकेजिङका खाद्य पदार्थ एमआरपीमै बेच्नुपर्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रका पसलमा प्याकेजिङ गरेर बिक्री वितरण हुने खाद्यान्नका सामानहरु अब बाहिरजस्तै सस्तो पाइने भएको छ ।

नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य लिन नपाउने गरी प्राधिकरणको एक अध्ययन समितिले सुझाव दिएको छ ।

प्राधिकरणले विमानस्थलभित्र सञ्चालन हुने पसलका सामान महंगो हुने गुनासोलाई सम्बोधन गर्न प्राधिकरणकै उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।

उक्त समितिले मंगलबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई प्रतिवदेन बुझाएको छ । उक्त प्रतिवेदनमा विमानस्गथलभित्र बिक्री हुने बिस्कुट, चाउचाउ, पानीसहितका प्याकेजिङका सामानमा अधिकतम खुद्रा (एमआरपी)मा नै बिक्री गर्नुपर्न प्राधिकरणलाई सिफारिस गरेको छ ।

देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरुले लिन पाउने मूल्यको सीमा तोक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले २ कात्तिकमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

विमानस्थल भित्रका पसलको मूल्य बाहिर बजारको तुलनामा महँगो हुने तर उपभोक्ताबाट यसबारे पटक पटक गुनासो आइरहेपछि गत कात्तिकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल भित्र अनुगमन गरेका थिए । सो क्रममा कतिपय पसलमा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न भनेको थियो ।

विमानस्थल भित्र प्राधिकरणले तोकेको मूल्यमा भाडा तिर्नुपर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने भएकाले बाहिरकै बजारको मूल्य राख्दा त्यसले गुणस्तरमा पर्ने प्रभाव समेतको अध्ययन गरी सीमा तोक्न बिहीबार प्राधिकरणले उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।

पसलहरुले वस्तु तथा सेवाको मूल्य निर्धारण गरी बिक्री गर्दा थोक मूल्यमा विद्युत् महसुल, बहालको ठेक्का रकम, संरचना, साज सज्जा गर्दा लाग्ने रकम, तालिम प्राप्त कर्मचारीलगायत अन्यमा हुने खर्च र सेवा समेतलाई ध्यानमा राखी कुल खर्चमा कानुन अनुसार लिन पाउने अधिकतम नाफा नबढ्ने गरी बिक्री गर्नुपर्ने र त्यसका लागि कार्यालयहरुले निर्देशन दिनुपर्ने सिफारिस समेत समितिले गरेको छ ।

यसका लागि मूल्य सूची सार्वजनिक गर्नुपर्ने र यस सम्बन्धी कानुनी व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा आवश्यक संशोधन गर्नुपर्ने छ ।

यस अनुसार वस्तुको मूल्य निर्धारण गर्दा अस्वभाविक मूल्य राख्न नहुने समेत समितिको सिफारिस छ । प्रत्येक पसमा बिक्री गरिने वस्तु र सेवाको मूल्यसूची अनिवार्य राख्नु पर्ने समेत सिफारिस समितिको छ ।


क्लिकमान्डु