नयाँ स्टकमा सहयोग गर्न धितोपत्र बोर्डले पठाएको पत्र अर्थ मन्त्रालयद्वारा फिर्ता



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि सहजीकरण गर्न माग गर्दै पठाएको पत्र अर्थ मन्त्रालयले थप प्रस्ट पार्नु भन्दै बोर्डमै फिर्ता पठाएको छ ।

धितोपत्र बोर्डले प्रधानमन्त्री कार्यालयबाट सहयोगका लागि सहजीकरणको माग गर्दै अर्थ मन्त्रालयलाई आइतबार पत्र पठाएको थियो । तर, पत्र स्पष्ट नभएको भन्दै अर्थले थप स्पष्टता खोज्दै फिर्ता गरेको हो ।

बोर्ड सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले प्रधानमन्त्री कार्यालयले रोकेको नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन सहजीकरणको आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।

नयाँ स्टकको विषयलाई लिएर आलोचना भएपछि २०८० वैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठाडो निर्देशनमा लाइसेन्स प्रकिया रोकिएको थियो । नयाँ स्टकको लाइसेन्स प्रक्रियामा नीतिगत भ्रष्टाचारको सुइँको पाइएको भन्दै प्रधानमन्त्रीले प्रक्रिया रोकेका थिए ।

प्रधानमन्त्रीको ग्रिन सिग्नल पाएपछि फेरि स्टकको लाइसेन्सको विषय चर्चामा आएको छ । यही पुस तेस्रो साता कार्यकाल सकिन लागेका धितोपत्र बोर्डका अध्यक्ष हमाल सकेसम्म त्यसअघि नै लाइसेन्स प्रक्रिया टुंगोमा पुर्‍याउने प्रयासमा छन् । हमाल नयाँ स्टकलाई लाइसेन्स दिन सहमत भए पनि उनको यही कार्यकालमा नयाँ स्टकले लाइसेन्स पाउने सम्भावना भने क्षीण हुँदै गएको छ ।

अर्थले थप प्रस्ट पार्न भन्दै पत्र फिर्ता गरेपछि अध्यक्ष हमालले बुधबार सञ्चालक समितिको बैठक बोलाएका छन् । बैठक अर्थले प्रस्ट पार्नु भनेका विषयमा केन्द्रित हुने बोर्डका एक सञ्चालकले बताए ।

बोर्डले नयाँ स्टकको लाइसेन्स प्रक्रिया वैशाख २७ गते अघि बढाएको थियो । नयाँ स्टकका लागि तीनवटा कम्पनीले आवेदन दिएका थिए । बोर्डमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।

तर, नयाँ स्टकको लाइसेन्स प्रधानमन्त्री कार्यालयले मात्रै नभएर प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले पनि रोकेको थियो । तर, अर्थ समितिले २०८० जेठ २९ गते नयाँ स्टकसम्बन्धी काम कारबाही अघि नबढाउन निर्देशन दिएको थियो ।

धितोपत्र बोर्डले कात्तिक १६ गते समितिलाई नयाँ स्टकको लाइसेन्समा सहजीकरण गर्न भन्दै पत्र लेखेको थियो । कात्तिक २४ गते साँझ बसेको अर्थ समितिको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।


क्लिकमान्डु