वीरगञ्ज सुक्खा बन्दरगाहमा भन्सारको सर्च अप्रेसन, जीवजन्तुको सिङदेखि सुपारीसम्म बरामद



काठमाडौं । भन्सार विभागले वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा सर्च अप्रेसन गरेको छ । लामो समयदेखि भन्सार बिन्दुमा आएका कन्टेनरहरु जाँच पास नगरेपछि विभागले अप्रेसन गरिरहेको हो ।

सुक्खा बन्दरगाहमा थन्किएका कन्टेनरमा अवैध सामग्री भएको सूचना पाएपछि विभागबाट ४ जनाको टोली अप्रेसनका लागि खटाएको थियो ।

उक्त टोलीले सुक्खा बन्दरगाहमा रहेका कन्टेनरबाट नेपालमा आयात गर्न प्रतिबन्धित सामग्रीहरु बरामद गरेको छ ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार त्यहाँ थन्किएका कन्टेनर खोल्ने क्रममा ७ ट्रक सुपारी, ३ ट्रक पोस्ता दाना १२० ट्रक कुहिएको अवस्थाको छोकडा लगायतका सामग्रीहरु बरामद भएका थिए ।

यस्तै विभागको टोलीले जीवजन्तुको सिङ लगायत विभिन्न प्रकारका अवैध सामग्री पनि फेला पारेको उनले बताए । विभागको टोलिले सोमबारदेखि अप्रेसन गरिरहेको छ ।

महानिर्देशक पौडेल प्रतिबन्धित थप सामग्रीहरु बरामद हुन सक्ने बताउँछन् । जीवजन्तुको सिङ भने लागुऔषध प्रयोजनका लागि ल्याइएको हुन सक्ने अनुमान विभागका अधिकारीको छ ।

भन्सार ऐनअनुसार सुक्खा बन्दरगाहमा कन्टेनर आएको ६० दिनभित्र जाँचपास गर्नुपर्छ । तर उक्त कानुनी व्यवस्था विपरित सन् २०१७ देखि कन्टेरहरु जम्मा हुन थालेपछि विभागले अप्रेसन सुरु गरेको थियो ।

सेटिङ नमिलेर पछिल्लो १ वर्षदेखि भन्सार बिन्दुमा थप कन्टेनर जम्मा हुन थालेपछि विभागले अप्रेसन सुरु गरेको थियो ।

‘भन्सार बिन्दु्मा दाल चामलको बिल बनाएर प्रतिबन्धित सामग्रीहरु आयात गर्ने व्यवसायीहरुको योजना थियो तर भन्सार प्रशासन र तस्करहरुको सेटिङ नमिलेपछि ति सामग्रीहरु रोकिएका थिए’ स्रोतले भन्यो,’ बील बनाउँदा कम भन्सार महसुल लाग्ने सामानको बनाउने र प्रज्ञापन पत्रमा सोही बमोजिमको विवरण दिने तर वास्तविकतामा भने अर्कै सामान पास गर्ने काम हुने गरेको छ ।’

तेस्रो मुलुकबाट नेपालमा छोकडा ल्याएर भारत निकासी गर्ने गरेकाहरुले भारतले छोकडामा भन्सार घटाएपछि त्यहाँ थन्किएको हुन सक्ने विभागका अधिकारीहरुको अनुमान छ ।

सुपारी भने नेपालमा आयात प्रतिबन्ध छ । औद्योगिक प्रयोजन बाहेकमा सुपारीको आयात गर्न नपाइने भए पनि व्यवसायीहरुले भने दाल, चामल भन्दै ल्याउने गरेका थिए ।


शरद ओझा