द्रुत बस: सरकार र व्यवसायी मख्ख, यात्रुलाई ‘हर्ष न बिस्मात’



काठमाडौं । सार्वजनिक यातायात सहज भएका मुलुकमा विकासको गति तीव्र हुन्छ । चुस्त सार्वजनिक यातायातले नागरिकमात्र नभएर सरकारको पनि उत्पादकत्व बढ्छ । त्यसैले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सार्वजनिक यातायातको सुधार महत्वपूर्ण हुन्छ ।

सार्वजनिक यातायातको अव्यवस्थाले नेपालले आर्थिक मूल्य पनि चुकाउनुपरेको छ । त्यसैले सार्वजनिक यातायात व्यवस्थित बनाएर काठमाडौं जस्तो सानो उपत्यकामा आधा घन्टामा एक छेउबाट अर्को छेउ पुग्न सक्नुपर्छ । त्यसका लागि विभिन्न विकल्पमा सरकारले काम गर्न सक्छ । जसमध्ये सरकारले सुरु गरेको द्रुत बस सेवा एउटा हुनसक्छ । तर, पर्याप्त गृहकार्यबिना सुरु गरिएको द्रुत बस सेवा आफैं असफल जस्तै भएको छ ।

काठमाडौंको सार्वजनिक यातायातको हैरानीबारे प्रधानमन्त्री, मन्त्रीदेखि उच्च सरकारी कर्मचारी सबै जानकार छन् । तर, समस्याको दीर्घकालीन समाधानका लागि कहिल्यै, कसैले पहल गरेको छैन ।

सरकारले अहिलेसम्म सार्वजनिक यातायात नीतिसमेत बनाएको छैन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक यातायातमा सुधार गर्न राष्ट्रिय यातायात नीति ल्याउने उल्लेख थियो ।

२०८० जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सार्वजनिक यातायात व्यवस्थापनमा संघ र प्रदेशको भूमिका स्पष्ट हुने गरी राष्ट्रिय यातायात नीति तथा संघीय यातायात विधेयक तर्जुमा गरिने’ उल्लेख छ । तर, नीति तथा कार्यक्रम प्रस्तुत भएको ७ महिना बितिसक्दा त्यसमा कुनै गृहकार्य भएको छैन ।

यसले सरकार सार्वजनिक यातायात सुधारमा गम्भिर स्पष्ट नभएको देखिन्छ । सार्वजनिक यातायातको हैरानीबारे सामाजिक सञ्जालदेखि हेल्लो सरकारसम्म गुनासा छरपष्ट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा बढी समस्या देखिएको कोटेश्वर क्षेत्रलाई लक्षित गरी द्रुत बस सेवा सञ्चालनको योजना बनाउन लगाए ।

साउन १५ मा प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाबीच भएको बैठकमा उनले रत्नपार्कदेखि सूर्यविनायकसम्म बस ‍र्‍यापिड ट्रान्जिट (बीआरटी) प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी रहेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले परीक्षणका रुपमा ‘बीआरटी’ प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएको डेढ महिनापछि नै भौतिक योजना तथा यातायात मन्त्रालयले ‘द्रुत बस सेवा’ सुरु गर्‍यो । संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिवाटिकामा यातायातमन्त्री प्रकाश ज्वालाले ‘द्रुत बस’को उद्घाटन गरे र चढेर सूर्यविनायक पुगे ।

काभ्रे-काठमाडौं नगर बसको बा ४ ख ९१८१ नम्बरको बसमा मन्त्री ज्वाला, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, महानगरीय ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेललगायत चढेका थिए ।

जामका कारण एक घण्टाभन्दा बढी लाग्ने गरेको १७ किलोमिटर दूरी प्रहरीको स्कर्टिङमा करिब ४५ मिनेटमै छिचोलिँदा सबै दंग परे । भोलिपल्ट असोज ४ देखि सर्वसाधारणका लागि बस चल्न सुरु भयो । तर, सञ्चालनको तीन महिना बित्दै गर्दा द्रुत बसको प्रभावकारिता भने निकै कमजोर देखिएको छ । तामझामका साथ उद्घाटन गरिएको ‘उपत्यका द्रुत बस सेवा’बाट सरकार र व्यवसायी मख्ख देखिए पनि यात्रु कत्ति सन्तुष्ट छैनन् ।

मन्त्री ज्वालाले ट्राफिक प्रहरी प्रमुख पोखरेललाई रातो बत्तीमा पनि बस रोकिनु नपर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएका थिए । तर, द्रुत बस जाम र रातो बत्तीमा राम्रैसँग रोकिने गरेका छन् ।

उद्घाटनका दिन विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि द्रुत बस सेवा स्टपभन्दा दायाँबायाँ रोक्न नमिल्ने र स्टपमा पनि ३० सेकेन्डभित्र यात्रु चढाउने र ओराल्ने गरिसक्नुपर्ने बताएका थिए । तर, द्रुत बसका सहचालकहरु यात्रु बोलाएर लामो समयसम्म स्टपमा बस्ने गरेका छन् ।

‘जाम र रातो बत्तीमा त रोकिन्छन् नै त्यसमाथि चोकमा रोकेर अरु बस जस्तै यात्रु बोलाएर बस्छन्,’ द्रुत बस चढेर धुलिखेलबाट काठमाडौं आवतजावत गर्ने रवि धिताल भन्छन्, ‘अर्को बस र द्रुत बसमा कुनै फरक छैन ।’ सडकमा रातो पोतिएको ठाउँमा पनि सबै सवारी साधन निर्धक्कसँग गुड्ने भएकाले ‘डेडिकेटेड लेन’को कुनै अर्थ नदेखिएको उनको टिप्पणी छ ।

भक्तपुरको सल्लाघारीबाट नयाँ बानेश्वरको एक निजी कम्पनीमा सधैं धाउने रमेश कार्कीले पनि द्रुत बसको उत्साह मर्दै गएको बताए । ‘सुरुमा केही होला कि जस्तो लागेको थियो,’ नयाँ बानेश्वरमा बसबाट झर्दै गर्दा भेटिएका उनले भने, ‘अहिले त सबै उस्तै छ, जुन बस चढे पनि उस्तै-उस्तै समय लागिहाल्छ ।’

सरकार मख्ख

यातायात व्यवस्था विभागले भने द्रुत बस सेवा प्रभावकारी बन्दै गएको दाबी गरेको छ । मंसिर लागेपछि द्रुत बसको प्रभावकारिताबारे निरन्तर जानकारी लिइएको विभागका महानिर्देशक रिजाल बताउँछन् ।

‘हामीले दैनिक बिहान र बेलुकाको तथ्यांक लिने गरेका छौं,’ क्लिकमान्डुसँग उनले भने, ‘रत्नपार्कबाट सूर्यविनायक करिब-करिब तोकिएको समयावधिभित्रै बसहरु आवतजावत गरिरहेका छन् ।’ यात्रुको चाप बढेपछि बस संख्या पनि थप गरेर २५ बाट ३६ पुर्‍याएको उनले बताए । ‘त्यसलाई बढाएर ६० पुर्‍याउने विषयमा यातायात व्यवसायीसँग छलफल भइरहेको छ,’ महानिर्देशक रिजालले भने ।

लामा बस सञ्चालनको योजनासहित सुरु गरिएको द्रुत बस अहिले ३२ देखि ४० सिटेसम्मका छन् । ती बसको सिट क्षमता भने १ हजार २७० छ । तर, द्रुत बसले अहिले बिहान र बेलुका दुई-दुई हजार यात्रु बोक्ने गरेको विभागले जनाएको छ ।

महानिर्देशक रिजालले तोकिएको समयमा बसहरु आवतजावत गरेको बताइरहँदा उनैले उपलब्ध गराएको तथ्यांकमा भने बसहरुले ४०-४२ मिनेटको बाटोलाई थप २२ मिनेटसम्म लगाएको पाइएको छ । पुस १ गते बिहान सूर्यविनायकबाट रत्नपार्क पुग्न ११ वटा बसले १५ मिनेटभन्दा बढी थप समय लगाएका छन् ।

उदाहरणका लागि भक्तपुरको सूर्यविनायकबाट आइतबार बिहान ९ बजेर ४३ मिनेटमा छुटेको ४२३२ नम्बरको बस १० बजेर २८ मिनेटमा रत्नपार्क पुग्नुपर्नेमा २२ मिनेट ढिलो गरी १० बजेर ५० मिनेटमा मात्र पुगेको छ । सूर्यविनायकबाट रत्नपार्क पुग्न यात्रुलाई १ घण्टा ७ मिनेट लागेको छ ।

मंसिर २८ गते पनि १८ वटा बसले सूर्यविनायकबाट रत्नपार्क आइपुग्न १५ मिनेटभन्दा बढी थप समय लगाएका थिए । सूर्यविनायकबाट ८ बजेर २५ मिनेटमा छुटेको ९२९३ नम्बरको बस ९ बजेर १० मिनेटमा रत्नपार्क पुग्नुपर्नेमा ९ बजेर ३५ मिनेटमा मात्र पुगेको थिए ।

पुस ५ गतेको तथ्यांकमा भने केही सुधार भएको देखिन्छ । पुस ५ गते ३६ मध्ये ७ वटा बसले ४५ मिनेटको दूरीलाई १ घण्टाभन्दा बढी समय लगाएका छन् । सूर्य विनायकबाट १० बजेर ८ मिनेटमा छुटेको ३६४६ नम्बरको बस त २० मिनेट ढिला गरी ११ बजेर १३ मिनेटमा मात्रै रत्नपार्क पुगेको छ ।

व्यवसायी उत्साहित

विभागका महानिर्देशक रिजाल पहिला ‘द्रुत बस चलाउन सकिँदैन, घाटा हुन्छ’ भनिरहेका व्यवसायी पनि यात्रुको चाप बढेपछि उत्साहित देखिएको बताउँछन् । ‘यात्रुको चाप बढेको छ, व्यवसायीलाई तथ्यांकले नै जवाफ दिएको छ,’ उनले भने, ‘अहिले उनीहरु पनि सकारात्मक देखिएका छन् ।’

विगतमा बस द्रुत सेवाका लागि बस छुट्याउन आनाकानी गरिरहेका व्यवसायी यात्रुको चाप बढेपछि उत्साहित बनेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला द्रुत सेवामा सुरुवातमा भन्दा प्रभावकारी देखिएको बताउँछन् ।

‘अहिले परीक्षणकाल नै हो तर धेरै सुधार देखिएको छ, हामी उत्साहित छौं,’ उनले भने, ‘हरेक दिन सेवामा सुधार गर्दै लगिरहेका छौं, बस थप्ने कुरा भइरहेको छ, काठमाडौंको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने दीर्घकालीन उपाय यही हो ।’

विस्तारै रत्नपार्कबाट बूढानीलकण्ठ, जोरपाटी, थानकोट, बालाजु, लगनखेललगायतका रुटमा पनि द्रुत सञ्चालन गर्ने प्रक्रिया अघि बढ्ने उनले बताए । ‘प्रभावकारिता बढ्यो र सरकारले सहयोग गर्‍यो भने यो सबै सम्भव छ, धेरै राम्रो हुन्छ,’ उनले भने ।

यातायात व्यवस्था विभागले बस सेवालाई स्मार्ट बनाउँदै लैजान र यात्रुको सहजताका लागि एप सार्वजनिक गरेको छ । ‘एपले सेवाग्राहीलाई बस कहाँ पुग्यो ? कहाँदेखि कहाँको भाडा कति लाग्छ ? भन्ने जस्ता विषयमा जानकारी दिन्छ,’ महानिर्देशक रिजालले भने, ‘यसले विभागमा पनि अद्यावधिक तथ्यांक रहन्छ ।’

तयारी पनि पुगेन, समीक्षा पनि भएन

सामान्यतः द्रुत बसको सफल अभ्यास गरिरहेका देशहरुले बीचको लेनलाई प्रयोगमा ल्याएका छन् । तर, काठमाडौंमा बायाँ लेनमा रातो पोतेर बिहान ९ देखि ११ र साँझ ४ देखि ६ सम्म द्रुत बस सञ्चालन गरिएको छ ।

बायाँ लेन प्रयोग गर्दा निजी र अरु सार्वजनिक सवारी साधन पनि रोकिनुपर्दा त्यही लेनमा जाने भएकाले अहिले समस्या देखिएको छ । विभागले भक्तपुरतिरको सर्भिस लेन क्लियर गर्ने र मोटरसाइकललगायतका निजी सवारी साधन त्यहाँ चलाउने तयारी पनि गरिरहेको जनाएको छ ।

यातायात विज्ञ आशिष गजुरेलले सुधारिएको बस सेवा सार्वजनिक यातायातका लागि राम्रो थालनी भए पनि तयारी नपुग्दा प्रभावकारी नभएको बताएका छन् । सुरुमा तयारी राम्रो नगरिएको र सुरु गरिसकेपछि कमजोरीबारे समीक्षा नगरिएको उनको टिप्पणी छ ।

विश्वमा पहिलो ‘बीआरटी’ सन् १९७१ मा बेलायतको न्यु टाउनमा सुरु गरिएको थियो । अहिले विश्वका १६० भन्दा धेरै सहरले अभ्यास गरिरहेका छन् । ‘त्यसमा पनि संसारकै उत्कृष्ट बीआरटी सेवा कोलम्बियामा छ,’ उनले भने, ‘भारतकै अहमदावादमा पनि सफल भएको छ तर नेपालमा तयारी पुगेन ।’ सुधारिएको बस सेवा टिकेटिङदेखि स्टेसनसम्म स्मार्ट हुनुपर्ने गजुरेलले बताए।

विभागका अनुसार द्रुत बसका लागि सूर्यविनायकबाट रत्नपार्कसम्म १९ स्थानमा बस स्टप राखिएको छ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, ठिमीलगायत धेरै मानिसको चाप हुने स्थानमा स्टप बनाइएको हो । द्रुत बसको लेनमा एम्बुलेन्स, शववाहन, दमकल र सरकारी कर्मचारी बोक्ने बसलाई भने चलाउन अनुमति दिइएको छ ।

चलायमान सहर चलायमान अर्थतन्त्रको आधार हो । तर, द्रुत बस सेवाले चलायमान काठमाडौं बनाउन अझ धेरै गृहकार्य गर्न आवश्यक छ ।


डीआर आचार्य