यति डिष्टिलरीको व्यापार १० प्रतिशतले घट्यो, ५ अर्ब १७ करोडको कारोबार



काठमाडौं । मदिरा उत्पादक यति डिष्टिलरीको व्यापार १० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ९.५५ प्रतिशतले घटेको हो ।

सन् २०२२ मा ७ अर्ब ७२ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ४ अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००३ मा स्थापना भएको कम्पनीले मदिरा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०१५ देखि प्रिमियम सेग्मेन्टको मदिरा वर्ल्ड दरबार ह्वीस्की र ८८४८ भोड्का बिक्री वितरण गर्दै आएको छ । जुन नेपाली बजारमा चर्चित ब्राण्ड हो । छोटो समयमै उक्त दुई ब्राण्डको मदिरा बिक्रीले बजारको ठूलो हिस्सा ओगटेको कम्पनीको दाबी छ ।

कम्पनी नेपाली बजारमा मदिरा बिक्री गर्नेमा स्थापित कम्पनी हो । रवि केसी ५० प्रतिशत, अभिषेक श्रेष्ठ र उनका परिवारको ५० प्रतिशत हिस्सा रहेको कम्पनीले दैनिक ९ हजार केस क्षमतामा मदिरा उत्पादन गर्दै आएको छ ।

देशभर १३० वटा वितरण केन्द्र रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ४६ करोड ८८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले यसअघि ३ अर्ब १२ करोड ३४ लाख रुपैयाँको रेटिङ गराएको थियो ।

कम्पनीले २५–३० युपीको मदिरा बिक्रीमा नेपाली बजारको ठूलो हिस्सा ओगटेको छ । कम्पनीले सन् २०१५ सम्म ७० यूपी मदिरा मात्रै बिक्री गर्दै आएको थियो । तर, सन् २०१५ पछि २५ यूपी वर्ल्ड दरबार र सन् २०१६ मा ३० यूपी ८८४८ भोड्का बिक्री वितरण सुरु गरेको थियो । उक्त दुई वटा मदिरा बजारमा बिक्री वितरण सुरु गरेसँगै देशभर फैलिएको कम्पनीको भनाइ छ ।

कम्पनीले आम्दानी गरेकोमध्ये ९० प्रतिशत हिस्सा वल्ड दरबार र ८८४८ को रहेको छ । कम्पनीले अन्य ६/७ वटा ब्राण्डको मदिरा पनि उत्पादन गर्दै आएको छ । कम्पनीले भोड्का, ह्वीस्की, जीन एण्ड लो इन्ड ७० यूपी मदिरा उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु