मदिरा बेच्ने कम्पनीहरुको व्यापारमा कमी, कुन कम्पनीको व्यापार कतिले घट्यो ?



काठमाडौं । गत आर्थिक वर्ष उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा त्यसको प्रत्यक्ष असर मदिरा बेच्ने कम्पनीहरुमा देखिएको छ ।

कोरोनाको समयमा पनि उच्च कारोबार गरेका मदिरा कम्पनीहरुको व्यापारमा गत वर्ष आयात प्रतिबन्धका कारण कमी आएको तथ्याङ्कले स्पष्ट देखाउँछ । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले २०७९ को वैशाखमा १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वटा वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो ।

सरकारले विभिन्न चरणमा उक्त निर्णय संशोधन गर्दै २०७९ को मंसिर मसान्तसम्ममा कायम गरेको थियो । जसले गर्दा मदिरा व्यापार कम्पनीहरुको व्यापारमा कमी आएको देखिएको हो ।

कम्पनीहरुले पनि सरकारले लागू गरेको एलसी प्रतिबन्धले र अर्थतन्त्र शिथिल हुँदा व्यापारमा कमी आएको जनाएका छन् ।

नेपालमा मदिराको उच्च व्यापार गर्दै आएको यति ब्रुअरी, नेपाल डिष्टिलरीज, जावलाखेल ग्रुप अफ कम्पनी र राज ब्रुअरीजस्ता ठूला कम्पनीहरुको व्यापारमा कमी आएको छ ।

कुन कम्पनीले कति गरे व्यापार ?

यति ब्रुअरीः अर्नासहित अन्य पाँचवटा ब्राण्डका मदिरा बेच्ने यति ब्रुअरीको व्यापार करिब १ अर्बले घटेको छ । कम्पनीले सन् २०२२ को तुलनामा सन् २०२३ मा ८९ करोड ३० लाख रुपैयाँले कम व्यापार गरेको हो ।

सन् २०२२ मा ३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा २ अर्ब ५८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ९९ कोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ मा व्यावसायिक व्यापार सुरु गरेको कम्पनीले वार्षिक १ करोड ३० लाख लिटर मदिरा उत्पादन गर्न सक्ने क्षमतामा उद्योग विस्तार गरेको थियो । कम्पनीले विशेषगरी बियर उत्पादन गर्दै आएको छ । त्यस्तै, कम्पनीले पछि आफ्नो क्षमता थप विस्तार गरी वार्षिक २ करोड ४० करोड लिटर मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीले आगामी दिनमा थप क्षमता विस्तार गर्ने योजनासहित वार्षिक ३ करोड ६० लाख लिटर मदिरा उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले अर्ना, यति, शिखर, वाईबी, किङफिसर र सेभेन सिन ब्रान्डको ११ वटा वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर २१४ वटा वितरक छन् । कम्पनीमा सञ्जीव सराफको ३२.८४ प्रतिशत, जयजिब सराफको ११.६६ प्रतिशत र विशाल अग्रवालको ६.९२ प्रतिशत हिस्सा रहेको छ ।

विशाल ग्रुप र एभरेस्ट ग्रुपको संयुक्त लगानी रहेको कम्पनीको अध्यक्ष विशाल अग्रवाल हुन् भने सञ्जीव सराफ प्रबन्ध निर्देशक हुन् ।

भारतको युनाइटेड ब्रुअरीसँग ट्रेडमार्क लाइसेन्स र वितरकमा सम्झौता गरेको कम्पनीले सन् २०१८ देखि नेपालमा किङफिसर बियर बिक्री गर्न सुरु गरेको थियो । कम्पनीअनुसार अर्थतन्त्रमा देखिएको सुस्तता र तरलता अभावले गर्दा सन् २०२३ मा २६ प्रतिशतले कम व्यापार भएको हो ।

कम्पनीअनुसार सन् २०२३ मा १६ प्रतिशतले परिमाणात्मक बिक्री वितरणमा कमी आएको छ । त्यसैगरी, गत वर्षको वार्षिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा ३६ प्रतिशतले कम कारोबार गरेको छ । चालु आर्थिक वर्षमा पनि अर्थतन्त्रको गतिविधिले गति लिन नसक्दा व्यापार गिरावट आएको उल्लेख छ ।

सन् २०२३ मा उत्पादन लागत २४ प्रतिशतले बढ्दा नाफामा प्रभाव परेको छ । कम्पनीले सन् २०२२ मा २९.४३ नाफा कमाएकोमा सन् २०२३ मा २१.६७ प्रतिशत मात्रै नाफा कमाएको छ ।

एसपीजी ट्रेडिङ कम्पनीः शारडा ग्रुपको मदिरा बेच्ने एसपीजी ट्रेडिङ कम्पनीले ९ महिनाको अवधिमा १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ६० करोड १० लाख रुपैयाँ, सन् २०२१ मा ९६ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ७० करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ८९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

शारडा ग्रुपले सन् २०१२ मा स्थापना गरेको एसपीजी ट्रेडिङ कम्पनीमार्फत् विभिन्न प्रकारका मदिरा आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले पेर्नो रिकार्ड, एब्सुलुट, ब्यालेनटाइन, बिफिटर, चिभास रिगल, ज्याकोब क्रिक, जेमसोन, रोयल स्यालुट, द ग्ल्निलिभेटलगायत अन्य प्रकारका मदिरा आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले रोयल स्ट्याग र इम्पेरियल ब्लु ब्रान्डको मदिरा विनर लिक्वयर उद्योग प्रालिमार्फत् उत्पादन गर्दै आएको छ ।

कम्पनीमा सन्दिपकुमार शारडा, गौरव शारडा, प्रदिपकुमार शारडाको १८.३३/१८.३३ प्रतिशत हिस्सा छ । त्यसबाहेक ४५ प्रतिशत हिस्सा राधेश्याम, शौरभ शारडा र अमितकुमार शारडाको हिस्सा छ । कम्पनीअनुसार सन् २०२३ को ९ महिनाको अवधिमा परिणात्मक बिक्रीमा कमी आएको छ ।

सरकारले गत वर्ष मदिराको आयातमा लगाएको प्रतिबन्धका कारण व्यापारमा असर परेको कम्पनीको भनाइ छ ।

कम्पनीको सन् २०२३ को ९ महिनाको अवधिमा ८ प्रतिशत नाफा कमाएको छ । सन् २०२३ मा रोयल स्ट्याग र इम्पेरियल ब्लूको व्यापार उच्च भएको उल्लेख गरेको छ । उक्त दुई ब्राण्डको मदिरा आन्तरिक बजारमा उच्च खपत हुँदा बिक्रीको हिस्सा ३४ प्रतिशत छ ।

राज ब्रुअरी प्रालिः जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको राज ब्रुअरी प्रालिले ९ महिनामा साढे ७८ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ३ करोड ३० लाख, सन् २०२१ मा ६७ करोड ६० लाख, सन् २०२० मा २८ करोड ६० लाख र सन् २०१९ मा ४६ करोड रुपैयाँको व्यापार गरेको हो ।

चार दशकदेखि मदिरा उत्पादन तथा बिक्री गर्दै आएको जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गतको राज ब्रुअरी सन् २०१३ देखि सञ्चालनमा छ । कम्पनीले सन् २०२१ को मार्चदेखि बर्डवाइजर ब्रान्डको मदिरा बिक्री सुरु गरेको छ ।

कम्पनीले विभिन्न पाँच ब्राण्डमा बियर बिक्री गर्दै आएको छ । कम्पनीले दुई वटा ब्राण्ड विदेशी बर्डवाइजर र वार्सटेनर तथा तीनवटा ब्रान्ड स्वदेशी नमस्ते, माउन्टेन आइस र हात्ती ८ बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार विभिन्न पाँचवटा ब्रान्डमध्ये बर्डवाइजरबाट उच्च व्यापार भएको उल्लेख छ ।

राजबहादुर शाहको स्वामित्व रहेको कम्पनीमा विजयकुमार शाह अध्यक्ष छन् । कम्पनीले युरोपियन, भारतीय र नेपाली सप्लायर्सबाट कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको छ । जेजीआईको देशभर एक सय डिलर र वायरहाउस छन् ।

जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज (जेजीआई) डिष्ट्रिब्युसन प्रालिः गोल्डेन ओकसहित अन्य विभिन्न प्रकारका मदिरा बेच्दै आएको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) डिस्ट्रिब्युसन प्रालिको व्यापार १७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा १६ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा ५ अर्ब ४० करोड ३९ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । जबकी कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२१ मा १४ अर्ब ५० करोड २७ लाख रुपैयाँ, सन् २०२० मा ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार सन् २०२३ मा सरकारले आयातमा लागू गरिएको शतप्रतिशत मार्जिनले गर्दा व्यापारमा उच्च प्रभाव परेको उल्लेख छ । साथै, गत आर्थिक वर्षमा आयातमा प्रतिबन्ध गर्दा व्यापारमा असर पुगेको छ ।

जेजीआई ४ वटा डिस्टिलरिज विजय, एसियन, हिमालय र रोल्वालिङ रिभरको एक मात्र वितरक हो । कम्पनी केही वाइन र बियरको पनि आधिकारिक विक्रेता पनि हो । कम्पनीमा विजयकुमार शाहको ५५ प्रतिशत र उनका छोराको ४५ प्रतिशत हिस्सा छ । देशभर ५ वटा वायर हाउस र २३७ वटा डिलर छन् ।

कम्पनीले ४० अप ब्राउन सेग्मेन्टमा गोल्डेन ओक बिक्री गर्दै आएको छ । उक्त मदिराको ग्राहक पनि उच्च रहेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ मा गरेको व्यापारमा मिश्रित ब्राण्डको हिस्सा ६२ प्रतिशत ब्राउन स्पिरिटको छ । जसमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजरर, हिमालय ब्रान्डी र अन्य मदिराको हिस्सा छ ।

त्यसबाहेक २४ प्रतिशत ह्वाइट स्पिरिटमा भोड्का, जिन र आइलाको र १४ प्रतिशत बियरको हिस्सा छ । कम्पनीले प्रमुख ब्रान्डको मदिरा रुस्लान भोड्काको भने बजारमा हिस्सा गुमाउँदै गएको छ ।

कम्पनीका अनुसार अहिले ४०अप गोल्डेन ओक र ४०अपको ब्लु डाइमन्ड जिन ब्रान्डको मदिराले व्यापार धानेको छ । जसमा उक्त दुई ब्रान्ड मदिराको हिस्सा मात्रै ६८ प्रतिशत छ ।

नेपाल डिस्टिलरिज प्रालिः खुकुरी रम नेपालमा उत्पादित लोकप्रिय मदिरा ब्राण्ड हो । मदिरा पारखीमाझ छुट्टै पहिचान बनाएको खुकुरी रमको व्यापार पनि बढ्दै गएको छ । खासगरी, जाडोको समयमा यो रकम अत्याधिक खपत हुन्छ । नेपालबाट विदेशमा कोशेलीकारुपमा समेत खुकुरी रम लैजाने चलन बढ्न थालेको छ ।

खुकुरी रम उत्पादन गर्ने कम्पनी हो नेपाल डिस्टिलरिज प्रालि । शरद टिबरेवाला र बसन्त चौधरी यो कम्पनीका सञ्चालक हुन् । गत आर्थिक वर्ष खुकुरी रम उत्पादन गर्ने कम्पनी नेपाल डिस्टिलरिजले १ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । केही वर्षयता निरन्तर वृद्धि भइरहेको कम्पनीको व्यापारमा गत वर्ष भने केही गिरावट देखिएको छ ।

सन् २०१९ मा नेपाल डिस्टिलरिजले १ अर्ब ४८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२० मा कोभिडलगायतका कारणले कम्पनीको व्यापारमा उच्च गिरावट आउँदै १ अर्ब ११ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार भएको थियो । त्यसपछि भने कम्पनीको व्यापार निरन्तर उकालो लागेको थियो ।

डिस्टिलरिजले २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ र २०२२ मा १ अर्ब ९० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२३ मा भने कम्पनीले १ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

नेपाल डिस्टिलरिज प्रालि सन् १९६१ मा खुलेको कम्पनी थियो, जुन पछि १९८० मा पुनः निजीकरण भएको थियो । स्वदेशी स्प्रिट उद्योगमा पुरानो रहेको यो कम्पनीले ‘खुकुरी एक्सएक्सएक्स रम’को उत्पादन गर्छ । कम्पनीको नेपाली बजारमा मार्केट सेयर निकै उच्च रहेको छ । र, रमका लागि पनि निकै चर्चित रहेको छ ।

नेपाल डिस्टिलरिजले खुकुरी रम र यसका ‘दुई डार्क रम’ भेरियन्टबाहेक भोड्का र ह्वाइट रमको पनि उत्पादन सुरु गरेको छ । तर, कम्पनीको मुख्य व्यापार र आम्दानी भने खुकुरी रममा नै आधारित रहेको छ ।


अरिष्मा मोक्तान