बीमालेख सरेन्डरमा व्यापक सुधार, एशियन लाइफबाहेकका सबै कम्पनीको सरेन्डर घट्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै जाँदा बीमा क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ । असोजको तुलनामा कात्तिकमा जीवन बीमा पोलिसी त्याग्न गर्नेको संख्यामा व्यापक सुधार आएको हो ।

कात्तिकमा बीमालेख त्याग गर्ने बीमितको संख्यामा उल्लेख्य कमी आएको छ । असोजमा ९ हजार ९३६ वटा बीमा लेख सरेन्डर (त्याग) भएकोमा कात्तिकमा ६ हजार ९१ वटा मात्रै बीमालेख सरेन्डर भएका छन् । असोजको तुलनामा कात्तिकमा बीमालेख सरेन्डर गर्नेको संख्या ३  हजार ८४५ वटाले कम भएको छ ।

असोजको तुलनामा कात्तिकमा बीमालेखमात्र नभएर बीमांक रकममा पनि ठूलो ग्याप छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोजमा १ अर्ब १८ करोड २९ लाख रुपैयाँबराबरको बीमालेख सरेन्डर भएकोमा कात्तिकमा ७९ करोड ४९ लाख रुपैयाँबराबरको मात्र बिमालेख सरेन्डर भएको हो ।

बीमकहरुका अनुसार बैंक तथा वित्तीय क्षेत्र सहज बन्दै जाँदा बीमा क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव परेको छ । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री आर्थिक स्थितिमा सुधारको संकेत देखिँदा पोलिसी सरेन्डर गर्ने क्रम घटेको बताउँछन् ।

‘अहिले अर्थतन्त्र चलायमान हुँदै गएको छ, बैंकिङ क्षेत्रमा पनि तरलता बढेको छ र ब्याजदर पनि घट्दै गएको छ,’ क्लिकमान्डुसँग उनले भने, ‘त्यसको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि देखिएको हो ।’

कात्तिकमा सञ्चालनमा रहेका १३ जीवन बीमा कम्पनीको बीमा सरेन्डर संख्या उल्लेख्य घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै बीमालेख सरेन्डर भएका छन् । यो कम्पनीको २६ करोड ४३ लाख रुपैयाँबराबरको १ हजार ७७७ वटा बीमालेख सरेन्डर भएका छन् ।

असोजको तुलतामा भने सरेन्डर घटेको छ । असोजमा नेपाल लाइफको ३८ करोड ९३ लाख रुपैयाँबराबरको २ हजार ६४९ वटा बिमालेख सरेन्डर भएको थियो ।

कात्तिकमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ हजार १५५, राष्ट्रिय बीमा संस्थानको ४५०, नेसनल लाइफको ३९१, हिमालयन लाइफको ४७७, सूर्यज्योतिको १९७, मेट लाइफको १६४ र सिटिजन्स लाइफको १५३ वटा बीमालेख सरेन्डर भएका छन् ।

यस्तै आइएमई लाइफको ६५, सन नेपाल लाइफको ५१, रिलायबल नेपालको ७३, सानिमा रिलायन्सको ९३ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५८ वटा बिमालेख सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

असोजमा भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ हजार ८१५, राष्ट्रिय बीमा संस्थानको १ हजार ६५, नेसनल लाइफको ८४९, हिमालयन लाइफको ८५५, सूर्यज्योतिको ६२१, मेट लाइफको ४०८ र सिटिजन्स लाइफको २५६ वटा बीमालेख सरेन्डर भएका थिए ।

यसैगरी असोजमा आइएमई लाइफको १६४, सन नेपाल लाइफको ७५, रिलायबल नेपालको १६४, सानिमा रिलायन्सको १४३ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११४ वटा बिमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा एउटा कम्पनीको मात्रै सरेन्डर बढेको छ । एशियन लाइफको सरेन्डर ३० प्रतिशतले बढेको हो । एसियनको असोजमा ७५८ वटा बीमालेख सरेन्डर हुँदा कात्तिकमा ९८७ वटा सरेन्डर भएका छन् ।


क्लिकमान्डु