नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने महानगरको योजनामा सडक विभाग बाधक



स्रोत : काठमाडौं महानगरपालिका सचिवालय

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेको आकाशे पुलमा लिफ्ट राख्ने योजनालाई सडक विभागले अनुमति दिन अस्वीकार गरेको छ ।

महानगरले सडक सुरक्षालाई ध्यानमा राख्दै बृद्धबृद्धा, अपांगता भएका व्यक्ति, बालबालिका र शारिरीक असक्त भएका व्यक्तिहरुका लागि आकाशे पुलमा लिफ्ट राख्ने योजना अघि सारेको थियो । महानगरले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट दुवैमा समावेश गरेको यो योजनाका लागि पाँच करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

तर उक्त योजनाको सम्पूर्ण पूर्व तयारी भई सकेको अवस्थामा सडक विभागले भने अनुमति दिन अस्वीकार गरेको हो । नयाँ बानेश्वरमा रहेको आकाशे पुल विभागअन्तर्गतको रहेकाले उक्त पुलमा लिफ्ट जडान गर्न महानगरलाई विभागले अनुमति दिनुपर्नेमा सो अनुमति प्राप्त नभएको महानगर स्रोतले बतायो ।

काठमाडौं महानगरको नगर प्रहरी बल अन्तर्गतको यातायात तथा सडक सुरक्षा कार्याक्रमबाट नयाँ बानेश्वरको पुलमा लिफ्ट राख्ने योजना छ । जसका लागि महानगरको सहरी योजना आयोगले डिपिआर एक महिनाअघि नै तयार गरि सडक विभागमा अनुमतिका लागि महिना दिन अघि पत्राचार गरेको थियो । योजनाको विस्तृत विवरणसहित महानगरको टोलीले सडक विभागमा करिब दुई साताअघि प्रस्तुती पनि दिएको थियो ।

जोखिम मोलेर सडक काट्दै पैदलयात्री । तस्बिर स्रोत : काठमाडौं महानगरपालिका सचिवालय

तर उक्त प्रस्तुती पश्चात सडक विभागले अनुमति दिन अस्वीकार गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन०को सचिवालय स्रोतले भन्यो, ‘ हामीले थ्रिडी डिजाइनसहित प्रस्तुती दिनुपर्ने भनेपछि त्यसमा काम गरेर पुनः सम्पर्क गर्दा अनुमति नदिने जवाफ मौखिक रुपमा आएको छ । एउटा प्रस्तुतीकरण भइसकेपछि विभागले यस्तो जवाफ दिएको थियो ।’

तर, विभागले अनुमति नदिनुको कारण भने के हो भन्ने बारेमा नखुलाएको स्रोतले जनायो ।

काठमाडौं महानगरले यातायात तथा सडक सुरक्षा कार्याक्रमअन्तर्गतबाट आफ्नो क्षेत्रभित्र हुने सडक दुर्घटनालगायतलाई शून्यमा झार्ने लक्ष्यसहित विभिन्न कार्यक्रम ल्याएको छ । जसमध्ये लिफ्ट जडान गर्ने, पेलिकन क्रसिंग जडान गर्नेजस्ता योजनाहरु रहेका छन् । तर, लिफ्ट जडान गर्ने योजना भने सडक विभागको अनुमति नहुँदा ढिलो हुने भएको छ । महानगरले भने यो आर्थिक वर्षभित्रमा नै यसलाई सञ्चालनमा ल्याउने लक्ष्यसहित काम गरेको स्रोतले बतायो ।

महानगरले लिफ्ट जडान गर्ने भनिएको नयाँ बानेश्वरको आकाशे पुलको प्रयोग गरि बृद्धबृद्धा, अपांगता भएका व्यक्ति, बालबालिका लगायतका अशक्त मानिसलाई सडक काट्न असहज हुने गरेको छ । जसकारण पुलको ठीक मुन्तिर जेब्रा क्रसिंगको पनि व्यवस्था गरिएको छ । तर, उक्त क्षेत्रमा ट्राफिक र सवारीको चाप धेरै हुने भएकाले जेब्रा क्रसिंगको प्रयोग गर्न जोखिमयुक्त छ । यस्तै जोखिम कम गर्ने लक्ष्यसहित महानगरले सोही ठाउँको आकाशे पुलमा लिफ्ट जडान गर्न तयारी गरेको थियो ।

तर, सडक विभागले भने यो विषयमा अनुमति नै नदिएको महानगर स्रोतले बतायो ।

‘विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को रिपोर्टकाअनुसार सडक दुर्घटनामा ज्यान गुमाउने संख्या विश्वभरमा एक वर्षमा १३ लाख छ’, स्रोतले भन्यो, ‘यसमा पनि ७३ प्रतिशत २५ वर्ष तलका युवाहरु छन् । हामीले लिफ्ट जडान गरेर सबैको सुरक्षा हुने गरि काम गर्न खोजेका छौं । तर, अनुमति नहुँदा अब के गर्ने भन्ने भएको छ ।’

महानगरले अन्य तीन ठाउँमा गरि चार आकाशे पुलमा लिफ्ट जडान गर्ने लक्ष्य लिएको थियो । तर, पहिलो आकाशे पुलमा नै अनुमति प्राप्त नहुँदा अन्य पुलमा लिफ्ट जडान गर्ने कुरा के हुन्छ भन्ने विषयमा भने अन्योल सिर्जना भएको महानगरले जनाएको छ ।


युवराज भट्टराई