सतीशलालले भने- एनसेलको कारोबार ५३ अर्ब रुपैयाँ मूल्यांकन गरेर भएको हो



काठमाडौं । एनसेलको ८० प्रतिशत स्वामित्व लिने सम्झौता गरेका नेपाली मुलका व्यवसायी सतिशलाल आचार्यले कम्पनीको मूल्याङकन ५३ अर्ब रुपैयाँ गर्दै सेयर खरिद गरेको बताएका छन् । बिहीबार आचार्यको तर्फबाट एनसेलले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

मलेसियन कम्पनी आजिएटाको एनसेलमा रहेको रेनल्ड होल्डिङको सेयर आचार्यको स्पेक्ट्रलाइटले किन्ने सम्झौता गरेको थियो।

‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो’ विज्ञप्तिमा भनिएको छ, ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर (करिब ५३ अर्ब रुपैयाँ) रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ ।’

आचार्यले हाल भएको कारोबारमा कुनै लाभकर वा अन्य कर तिर्नुपर्ने भए कानून अनुसार सबै दायित्व पुरा गर्न तयार रहेको जनाएका छन् ।

‘एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं ।’

यस विषयमा आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको जनाएको छ ।


क्लिकमान्डु