४८ घण्टाभित्र एनसेलबारे धारणा सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन

'एनसेलको सेयर किनबेच संशयपूर्ण र अवास्तविक'



काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा ३० दिनभित्र कार्यसम्पादन गर्ने गरी स्वतन्त्र अनुसन्धान गर्न निर्देशन दिएको छ ।

लेखा समितिको बुधबार बसेको बैठकले एनसेलको सेयर बिक्री, हक हस्तान्तरणलाई यथास्थितिमा राख्न र रोक्न तथा यथार्थ पहिचान गर्नका लागि ३० दिनभित्र कार्यसम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन निर्देशन दिएको हो ।

त्यस्तै समितिले एनसेलको सयर खरिद बिक्री र नेपालमा वैदेशिक लागनी जोखिमपूर्ण रहेको आजियटाको भनाइप्रति सरकारलाई ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मलेसियन कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर अर्को कम्पनीलाई खरिद बिक्री गरेको सम्बन्धमा नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणलाई जानकारी गराउनुपर्नेमा अबको प्रक्रिया जानकारी गराउँछु भन्नुले यसअघि प्रक्रिया पूरा गरिएको नदेखिएको समितिको ठहर छ ।

अवास्तविक र अपारदर्शी रुपमा अति न्यून मूल्यांकन गरी सेयर खरिद बिक्री गरिनु, नेपालबाहिर सेयर खरिद बिक्री गरी नेपाल सरकारलाई पुँजीगत लाभकर स्वामित्व हस्तान्तरण करलगायतलाई प्रभावित गर्न खोजिएको देखिएको समितिको निष्कर्ष छ ।

६ वर्षपछि कानुनी रुपमा नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई अनिश्चयतर्फ धकेल्न खोज्नु, पारदर्शिता नदेखिनु, नेपालमा लगानीको वातावरण छैन भनेर भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोज्नुले उक्त कारोबार प्रारम्भिक रुपमा संशयपूर्ण र अवास्तविक भएको भन्न सकिने अवस्था देखिने समितिको ठहर छ ।


क्लिकमान्डु