दुर्गा प्रसाईंले २० लाखसम्म तिर्नु पर्दैन भनेपछि बैंकहरु कर्जा दिन डराए: गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २० लाखसम्म तिर्नु पर्दैन भनेपछि बैंकहरु कर्जा दिन डराएको बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बुधबार गभर्नर अधिकारीले भने, ‘निक्षेपकर्ताको पैसा जोखिममा पर्ने भएपछि बैंकहरु कर्जा दिन डराएका छन्, अहिले कर्जा जान कम हुनुको कारण पनि त्यही नै हो ।’
निर्माण क्षेत्रमा आएको सुस्तताका कारण क्षमताअनुसार काम गर्न नसक्दा पनि कर्जाको माग घटेको गभर्नरको भनाइ छ ।
कर्जा तिर्नकै लागि लिनुपर्ने उनले बताए । बैठकमा गभर्नर अधिकारीले ३३ लाखले माइक्रोफाइनान्सबाट लोन लिएको तथ्य सुनाए । अहिले व्यवसायी प्रसाईं २० लाखसम्मको कर्जा मिनाहा गर्ने आश्वासनसहित गणतन्त्र र संघीयताविरोधी आन्दोलनमा छन्।
बाफिया पहिला संशोधन गर्दा व्यवसायी र बैंक छुट्याउन खोजेको भए पनि हुन नसकेको उनले बताए । बैंकमा व्यवसायी छिर्न नहुनेमा आफूहरु सचेत रहेको अधिकारीको भनाइ छ ।
हिमालयन बैंकको सेयर हबिबले बिक्री गर्ने विषयमा राष्ट्र बैंकलाई आधिकारिक जानकारी नआएको उनले स्पष्ट पारे ।