प्रभावशाली व्यक्तिलाई सिंगापुर घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्‍यो: डा. वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले प्रभावशाली व्यक्तिलाई सिंगापुर घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

‘एनसेलले राजनीति दल, नीति निर्माता र मिडियालाई प्रभावमा पारेको तथा नेताका श्रीमती र पुत्रलाई सिंगापुर घुमाएर अहिलेको अवस्था आएको हो,’ प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बुधबारको बैठकमा उनले भने ।

डा. वाग्लेले नेपालमा शरणार्थी र स्टक काण्ड हुँदै अहिले एनसेल काण्ड आएको बताए । उनले आजियटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र काटेर बोलाउन समितिलाई आग्रह गरे ।

‘समितिले यो घटनालाई किनारा नलगाए देशलाई नै क्षति पुग्छ,’ उनले भने, ‘त्यसकारण पनि आजियटाका सीईओलाई बोलाउनुपर्छ, लगानी सम्मेलन गर्छु भन्ने अनि नेपालमा भएको कम्पनीले देशलाई धारेहात लगाउनु राम्रो होइन ।’

नेपालको कर र लाइसेन्स प्रणाालीका विषयमा छलफल आवश्यक रहेको सांसद वाग्लेले बताए । तजबिजी अधिकारले अर्बौंको भ्रष्टाचार भएको उनको आरोप छ ।

खेल्न पाइन्छ भनेर नै कतिपय कानुनमा ग्रे एरिया राखिएको उनको तर्क छ । अदालतलाई प्रभावमा पारेर अर्बौं असुल्दा पनि हाम्रो ऐन कानुन अस्पष्ट छ,’ उनले भने, ‘विदेशीले नेपालमा लगानी गरे नेतालाई साझेदार नबनाई काम नहुने नजिर छ ।’

दायित्व र ऋण पन्छाउने तर लाभांश लिइरहने भन्नु साढे ६ अर्बको मात्रैभन्दा पनि ५०-६० अर्बको कारोबार हुनसक्ने वाग्लेले बताए । एनसेलका कारण नेपालमा आउने अन्य विदेशी लगानीलाई निरुत्साहित बनाउने उनको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद दिपक खड्काले कानुनी छिद्रता नै समस्या हो भने कानुनमा सुधार गर्नुपर्ने बताए । आफूले पहिलेदेखि नै लाभकर नतिरेसम्म एनसेल प्रयोग नगरौं भन्ने अभियान चलाएको र अहिलेसम्म पनि सिम नचलाएको उनको भनाइ छ । अर्बौं कमाउने कम्पनीले कर तिर्दिन भन्नु गलत भएको सांसद खड्काको तर्क छ ।

खर्बौं पैसा कमाएर एउटा कम्पनीले देश छोड्दै गर्दा ‘लगानी गर्ने वातावरण छैन’ भन्नु गलत भएको उनले बताए । कानुनको छिद्रमा टेकेर यस्ता कम्पनी बाहिरिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

जेठ अन्तिम र असार २ गते आएको बाढीले पूर्वका ३१ वटा जलविद्युत आयोजनामा क्षति भएको, मानवीय क्षति पनि भएको तर सरकारले केही नबोलेको गुनासो उनले गरे ।


क्लिकमान्डु