एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन समिति गठन हुने
काठमाडौं । एनसेलको सेयर किनबेच प्रकरणबारे विस्तृत छानबिन गर्न समिति गठन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग मंगलबार बालुवाटारमा छलफल गरेलगत्तै संचार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै छानबिन समिति गठन हुने जनाएको हो ।
संभवत बिहीबारको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउनेछ । र छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘क्याबिनेटबाट यस सम्बन्धमा अध्ययन तथा छानबिन समिति बन्नेछ, उनले भनिन्, त्यसले सिफारिस गरे बमोजिम सरकार अगाडि बढ्ने छ।’ उनले समितिमा को को रहनेबारे मन्त्रिपरिषदको बैठकले नै निर्णय गर्ने पनि बताइन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत नलिएको र प्राधिकरणलाई जानकारी समेत नगराई अस्वभाविक मूल्यमा भएको कारोबार गरेको देखिएको सरकारको बुझाइ छ ।
मन्त्रालयद्धारा जारी विज्ञप्तिका अनुसार प्रधानमन्त्रीले सोमबार नै छानबिन गर्न निर्देशन दिइसकेका छन् । ‘प्रचलित कानुनी प्रावधान, अन्तर्राष्ट्रिय विधिको पालना, यस्ता क्रियाकलापबाट दुरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने अवसर, राजश्वमा पर्ने प्रभावबारे विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ ।
दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि एनसेलले मंगलबार जवाफी पत्र पठाएको जनाउँदै संचार मन्त्री रेखा शर्माले अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न जरुरी देखिएको मन्त्री शर्माले बताइन् ।
यसमा कतिपयले प्रधानमन्त्री र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत जोडेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री शर्माले त्यसमा कुनै सत्यता नरहेको भन्दै यदि त्यसमा सत्यता हुन्थ्यो भने सरकारले छानबिनके निर्णय गर्ने थिएन भन्ने जवाफ दिइनु ।
मलेसियन कम्पनी आजियटाले शुक्रबार एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई बिक्री गरेको थियो ।
नेपाल सरकारका सम्बन्धित निकायलाई कानूनअनुसार जानकारी नदिइकनै किनबेच गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका छन् । यसबाहेक पनि सेयर किनबेच प्रकरणमा प्रभानमन्त्रीलाई जोड्न थालेपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका थिए ।
छलफलपछि सञ्चार मन्त्री शर्माले एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको कुनै पनि संलग्नता नरहेको स्पष्टिकरण दिएकी छन् ।
यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले एनसेलको सेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुनबमोजिम सरकारका सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुकूल खरिद(बिक्री नभएको बताए ।
सेयर खरिद बिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको उनले जानकारी दिए ।
प्रमुख सचेतक लेखकले एनसेल सेयर खरिद(बिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्नेमा सरकार र गठबन्धन तयार रहेको बताए ।
छलफलमा प्रधानमन्त्रीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी थिए ।
त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङका साथै नेपाल दूरसञ्चार प्राधिकरण र कर कार्यालयका प्रमुखहरु पनि थिए ।