वर्क पर्मिट र विद्यार्थी भिसामा बेलायतको कडाइ, वार्षिक तलब ३८ हजार ७ सय पाउन्ड हुनुपर्ने



काठमाडौं । बेलायत सरकारले वर्क पर्मिट र विद्यार्थी भिसामा कडाइ गरेको छ । बेलायतले चुनाव हुन करिब एक वर्ष बाँकी रहँदा अध्यागमन नियममा कडाइ गर्ने घोषणा गरेको हो ।

गृहसचिव जेम्स क्लेभर्लीले बढ्दो विदेशी आगमनमा कडाइ गर्नुपर्ने देखिएको बताए । उनका अनुसार बेलायत सरकारले वर्क पर्मिट, विद्यार्थी भिसा, दक्ष कामदार भिसा, केयर भिसा र सर्टेज अकुपेसन भिसामा कडाइ गर्ने पाँच बुँदे घोषणा गरेको छ ।

क्लेभर्लीले पाँच बुँदे घोषणामा आगमनमा स्वास्थ्य वा केयर भिसामा कडाइ गरेको छ । बेलायत सरकारले केयर भिसामा आएका विदेशीले स्पोन्सर भिसामा परिवार लैजान नपाउने जनाएको छ । बेलायतले डिपेन्डेन्ट भिसामा श्रीमान, श्रीमती र बालबालिकालाई लैजान नपाउने व्यवस्था गरेको हो ।

त्यसैगरी, बेलायत सरकारले दक्ष कामदारको भिसामा पनि कडाइ गरेको छ । दक्ष कामदारको हकमा वार्षिक ३८ हजार ७ सय पाउन्ड आम्दानी हुनुपर्ने थ्रेसहोल्ड तोकिएको छ । दक्ष कामदारले आवेदनका क्रममा नै आम्दानीबारे उल्लेख गर्नुपर्नेछ । पारिवारिक भिसामा पनि थ्रेसहोल्ड तोकिएको छ । पारिवारिक भिसाका लागि १८ हजार ६ सय थ्रेसहोल्ड तोकिएको हो ।

बेलायत सरकारले विद्यार्थी भिसामा पनि कडाइ गरेको छ । विद्यार्थीले आफूसँगै डिपेन्डेन्ट भिसामा आफ्ना परिवारको सदस्य लान सक्ने व्यवस्था थियो । अब भने उक्त भिसामा समेत कडाइ गरिएको हो । बेलायतले ग्राजुएट गरेर अध्ययन सकेका विद्यार्थी दुई वर्षसम्म मात्रै बस्न पाउने गरी नियम ल्याउने तयारी गरेको छ ।

बेलायत सरकारले वार्षिक ३ लाखभन्दा कम मानिसलाई मात्र आगमन गर्न दिने रणनीति अपनाएको छ । गृहसचिव क्लेभर्लीले ‘इनअफ इज इनअफ’ भन्दै बेलायतमा बढ्दो आगमनलाई कडाइ गर्न योजना बनाएको बताएका छन् ।

सन् २०२२ मा बेलायतमा आप्रवासी कामदार र विद्यार्थी गरी ७ लाख ४५ हजार पुगेका थिए । आगामी दिनमा उक्त संख्या कम गर्न सरकारले योजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

त्यसैगरी, बेलायत सरकारले युरोपियन युनियनमा सीमामा कडाइ गर्ने विषयमा भोट गरेको छ । त्यसैले अध्यामगन क्षेत्रको नीति र कानुन स्पष्ट र दिगो हुनुपर्ने उनले  स्पष्ट पारे ।


क्लिकमान्डु