आईपीओ जारी गर्ने तयारीमा रहेको स्टार हस्पिटलको आम्दानी ३९.४६ प्रतिशतले घट्यो



काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको ललितपुरको सानेपास्थित स्टार हस्पिटलको आम्दानी ३९.४६ प्रतिशतले घटेको छ । कोरोनाको समयमा उच्च आम्दानी गरेको हस्पिटलले सन् २०२२ को तुलनामा सन् २०२३ मा ३९.४६ प्रतिशतले कम कारोबार गरेको हो ।

तीन दशक लामो बैंकिङ करियरबाट रिटायर्ड भएका किशोरकुमार महर्जनले खरिद गरेको स्टार हस्पिटलको आम्दानी दुई वर्षयता घट्दै गएको छ । १३ वर्षअघि सञ्चालनमा आएको हस्पिटलले लामो समयदेखि घाटा व्यहोर्दै आएको थियो । महर्जनको इन्ट्रीलगत्तै हस्पिटल नाफामा गएको थियो । तर, अहिले पुनः घाटामा गएको छ ।

हस्पिटलले सन् २०२२ मा ७४ करोड ५० लाख आम्दानी गरेको अस्पतालले सन् २०२३ मा ४५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । हस्पिटलले सन् २०२१ मा ९० करोड ३० लाख, सन् २०२० मा २३ करोड ६० लाख र सन् २०१९ मा १८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

मेडिकल, सर्जिकल र डाइग्नोस्टिक सेवा दिँदै आएको हस्पिटलमा ३७ जनाभन्दा बढी सेयरहोल्डर छन् । हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।

सन् २००७ देखि सेवा दिन थालेको हस्पिटलले सन् २०१९ मा ५० शय्याबाट एक सय शय्याको सुविधा दिने गरी विस्तार गरेको थियो ।


क्लिकमान्डु