मौद्रिक नीतिको समीक्षामा सेयर लगानीकर्ताका मुख्य २ माग



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ । बुधबार केन्द्रीय बैंकले सञ्चालक समितिको बैठकसमेत बोलाएको छ । त्यसलगत्तै समीक्षा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गर्दै गर्दा सेयर लगानीकर्ताले पनि राष्ट्र बैंकसँग केही अपेक्षा रहेको जनाएका छन् । लामो समयदेखि बजार घटिरहेको भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षाबाट केही संशोधन गरेको खण्डमा बजारले गति लिने सेयर लगानीकर्ताहरुको तर्क छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीको द्वन्द्वको चपेटामा सेयरलगानीकर्ता परेका कारण राष्ट्र बैंकले लगानीकर्ताको माग पूरा नगरेको लगानीकर्ताको तर्क छ । अर्थमन्त्री महत लगानीकर्ताको हित हुने नीति राष्ट्र बैंकले लेओस् भन्ने चाहना राख्ने तर महत र अधिकारीको बेमेलका कारण राष्ट्र बैंकले आफ्नो नीतिमा संशोधन नगर्दा समस्या परेको तर्क गर्छन् ।

अहिले अर्थमन्त्री र गभर्नरको आन्तरिक द्वन्द्वको चपेटामा लगानीकर्ता परेको उनीहरुको बुझाइ छ । केही समययता बैंकको ब्याजदर घट्दा पनि सेयर धितोमा जाने कर्जा अपेक्षित रुपमा बढ्न सकेको छैन ।

राष्ट्र बैंकको कडा नीतिका कारण सेयर धितोमा जाने कर्जा कम भएको लगानीकर्ताको बुझाइ छ । अहिले बैंकहरुले सेयर धितोमा कर्जा दिन्छु भने पनि केन्द्रीय बैंकका कारण त्यो सम्भावना कम रहेको एक लगानीकर्ताले बताए ।

केन्द्रीय बैंकले गरेको माइक्रोम्यानेजमेन्टलाई बन्द गर्ने हो भने अहिले सेयर बजारमात्रै नभएर समग्र अर्थतन्त्र नै सुधारको बाटोमा जाने कतिपय लगानीकर्ताको तर्क छ ।

अहिले लगानीकर्ताहरुको माग सेयर धितोकर्जाको संस्थागत तर्फ २० करोडको सीमा हटाउन र जोखिम भार १५० प्रतिशतलाई १०० मा झार्नुपर्ने माग छ । लगानीकर्ताले उक्त माग राखेको भए पनि अर्थमन्त्रीसँगको धमिलो सम्बन्धका कारण लगानीकर्ताको माग पूरा होला त ? भन्ने प्रश्न बारम्बार उब्जिरहेको लगानीकर्ताहरु बताउँछन् ।

राष्ट्र बैंकले असोजमा सेयर धितोकर्जा व्यक्तिगततर्फ अधिकतम १२ करोडको सीमालाई बढाएर १५ करोड र संस्थागतको २० करोड रुपैयाँ बनाएको छ ।

अहिले जोखिम भार अनुपात ५० लाख रुपैयाँसम्मको कर्जामा १०० प्रतिशत र त्योभन्दा बढीमा १५० प्रतिशत गरेको छ । अहिले लगानीकर्ताले संस्थागततर्फको २० करोड हटाउन र ५० लाखभन्दा बढीको १५० प्रतिशतको सीमालाई १०० प्रतिशतमा झार्न माग गरिहेका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सेयर धितोकर्तामा हाल रहेको संस्थागततर्फको २० करोडको सीमा हटाउने हो भने बजारमा केही सुधारको संकेत देखिने तर्क गर्छिन् । यसले बजारमा संस्थागत थप लगानीकर्ता भित्र्न सहयोग पुग्ने उनको तर्क छ । 

अहिले लगानीकर्ताले बैंकमा सेयर धितो राखेर कर्जा लिन खोज्दा पनि पाउने सम्भावना रहेको भन्दै उनले मौद्रिक नीतिको समीक्षाले यसलाई सहज बनाइदिनुपर्ने लगानीकर्ताको माग रहेको उनले बताइन् ।

अहिले बैंकको ब्याजदर कम भए पनि सेयर धितोमा कर्जा लिन समस्या भएको उनको बुझाइ छ । लामो समयदेखि राष्ट्र बैंकले विभिन्न बाहनामा बजारमा क्याप लगाउँदा लाखौं लगानीकर्ता त्रसित बनेको अध्यक्ष पोखरेलको भनाइ छ ।

‘केन्द्रीय बैंकले अर्थतन्त्र चलायनमान बनाउने खालको नीति लिने हो भने त्यसको प्रभाव बजारमा पनि पर्छ,’ उनले भनिन्, ‘विभिन्न शीर्षकमा क्याप राखेर ठूला लगानीकर्तालाई निराश बनाउनु हुँदैन । बजारको सुधार गर्ने हो भने ठूला लगानीकर्तालाई बजारमा आउन सहज बनाउनुपर्छ ।’

नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्सालले यतिबेला लगानीकर्ता मौद्रिक नीतिको समीक्षा कुरेर बसेको र त्यसले नै बजारलाई अलमल बनाएको बताउँछन् । अहिले लगानीकर्ता केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्दा केही नीतिगत सुधार गर्ला कि भन्ने अपेक्षामा रहेको बताउँछन् । अहिले संस्थागततर्फको २० करोडको सीमा हटाउन र १५० प्रतिशत जोखिम भारलाई  १०० प्रतिशतमा झार्न उनको सुझाव छ ।

अन्य क्षेत्रको जस्तो सेयर धितोमा जाने कर्जामा जोखिम कम भएको हुनालो १५० प्रतिशत राख्नुको औचित्य नभएको उनको तर्क छ । ‘बैंकले कर्जा दिँदा लिनेको कर्जा लिन सक्ने क्षमता हेरेर दिन्छ । सेयर धितोमा  गएको कर्जा अहिलेसम्म बिग्रेको उदाहरण छैन,’ उनले भने, ‘रिस्क नभएको ठाँउमा रिक्स वेटेज धेरै राख्नुको अर्थ छैन । यसमा राष्ट्र बैंकले संशोधन गर्न आवश्यक छ ।’

कुनै लगानीकर्ताले ऋण लिएर लगानी गरौं भने पनि राष्ट्र बैंक ऋणी प्रति अनुदार हुँदा कर्जा लिन अहसज भएको उनको गुनासो छ । ऋणीलाई ऋण लिएर लगानी गर्न सक्ने वातावरण मौद्रिक नीतिको पहिलो समीक्षामा हुनुपर्ने लम्सालको माग छ ।


क्लिकमान्डु