प्राधिकरणले सडक बत्तिको पैसा माग्दा विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विराटनगर महानगरसँग सडक बत्तिको पैसा मागेपछि महानगरले पनि प्राधिकरणसँग पोल भाडा र सम्पत्ति कर मागेको छ ।

विद्युत प्राधिकरणले महानगरपालिकाले महसुल तिर्न बाँकी रहेको भन्दै विभिन्न ठाउँका सडक बत्तिहरुमा विद्युत लाइन काटेको थियो । प्राधिकरणले बिजुली काटेसँगै महानगरले पनि प्राधिकरणका नाममा पत्र लेखेर सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न ताकेता गरेको छ ।

महानगरपालिकाले प्राधिकरणको कोशी प्रादेशिक कार्यालयलाई पत्र लेख्दै प्राधिकरणले महानगरपालिकालाई आर्थिक वर्ष २०८०/०८१ सम्मको सम्पत्ति कर ३ करोड ८१ लाख ८५ हजार ७३३ रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ ।

त्यस्तै, बिजुलीको पोल भाडा वार्षिक शुल्क २०७४/०७५ देखि आव २०८०/०८१ सम्मको कुल ६ करोड १९ लाख २८ हजार ९२५ रुपैयाँ रहेको छ । महानगरले प्राधिकरणलाई बाँकी रहेको कुल १० करोड १ लाख १४ हजार ६ सय ५८ रुपैयाँ तिर्नका लागि ताकेता गर्दै पत्र लेखेको छ ।

आगामी १५ दिन भित्रमा बाँकी रहेको सम्पूर्ण भुक्तानी चुक्ता गर्न ताकेता गर्दै महानगरपालिकाले प्राधिकरणलाई पत्राचार गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले प्राधिकरणले महानगरलाई भुक्तानी गरे आफूहरुले पनि सडक बत्तिको पैसा तिर्ने बताएका छन् ।

‘यो पुरानैं समस्या हो । पहिले कति सालमा सरकारले सेटलमेन्ट गरिदिएको थियो । अहिले प्राधिकरणले पत्रिकामा सूचना निकालेर सडक बत्ति काटेर भुक्तानी दिन भन्यो । हामीले पनि हाम्रो आम्दानीको स्रोत यस्ता कर हुन भनेर पत्राचार गरेका हौं । उनीहरुलाई हामीले तिर्न ८/१० करोड जति छ, उनीहरुले हामीलाई भुक्तानी दिएमा हामी पनि तिरिदिन्छौं’ पराजुलीले क्लिकमान्डुसँग भने ।


क्लिकमान्डु