पाँचतारे होटलभन्दा महँगा रिसोर्ट, एक रात बस्न कति लाग्छ खर्च ?



काठमाडौं । नेपालमा पाँचतारे होटलभन्दा महँगा रिसोर्ट सञ्चालनमा छन् भन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ । तर, यथार्थ यही हो । नेपालमा काठमाडौंभित्र र बाहिरका पाँचतारे होटलभन्दा महँगा रिसोर्ट थुप्रै सञ्चालनमा छन् ।

सञ्चालनमा रहेका पाँचतारे होटलमध्ये काठमाडौंको मल्लमा एक रात बस्न ९० डलर अर्थात् (करिब ११ हजार ९ सय रुपैयाँ) खर्च गरे पुग्छ । यो होटलमा महँगो कोठाको पनि १२२ डलर अर्थात् १६ हजार २ सयमात्रै शुल्क तोकिएको छ । होटलको शुल्क २ जनासम्म बस्न सकिने एउटा कोठाका लागि तय भएको हुन्छ ।

काठमाडौंबाहिरका पाँचतारे होटल बाँकेमा सञ्चालन भइरहेको सेन्ट्रल प्लाजा र कास्कीको पोखरा ग्राण्ड दुबैमा समान शुल्क छ । यी दुवै होटलमा एक रातको ७ हजार ६ सय रुपैयाँ शुल्क तिरेर बस्न पाइन्छ ।

काठमाडौंभित्र र बाहिरका यी प्रतिनिधिमूलक पाँचतारे होटलभन्दा महँगा रिसोर्ट अहिले धमाधम बनिरहेका छन् । सञ्चालनमा आएका र सञ्चालनको तयारीमा रहेका यस्ता रिसोर्टमा एक रात बस्न लाग्ने खर्च पाँचतारे होटलको भन्दा बढी छ ।

हाल सञ्चालनमा आएका र पाँचतारे होटलसरहकै महँगा विभिन्न क्षेत्रका १० वटा प्रतिनिधिमूलक रिसोर्टलाई क्लिकमान्डुले कुनमा बस्न कति शुल्क लाग्छ भनेर सम्बन्धित होटलले जारी गरेको विवरणमार्फत उल्लेख गरेको छ ।

शिन्तामणि मुस्ताङ

हाल सञ्चालनमा आएका रिसोर्टमध्ये सबैभन्दा महँगो यति समूहले शेर्पा हस्पिटालिटी ग्रुपबाट सञ्चालन गरेको शिन्तामणि मुस्ताङ हो । यो नेपालकै महँगो रिसोर्टमध्येको एक हो । यो रिसोर्टमा बस्न न्यूनतम् १७ सय डलर अर्थात् २ लाख २६ हजार रुपैयाँ तिर्नुपर्छ ।

यो रिसोर्टमा बस्न न्यूनतम ५ दिनको प्याकेज अनिवार्य गरिएको होटलले जानकारी दिएको छ । होटलमा बस्न एक रातको ३ लाख रुपैयाँसम्म खर्च लाग्ने पनि रिसोर्टले जानकारी दिएको छ ।

होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार बनेका छन् । होटलमा आउने पाहुनाका लागि हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ, ट्रेकिङसहितको सुविधा छ ।

द टेरेस रिसोर्ट एण्ड स्पा

काठमाडौं आउने विदेशी पाहुनालाई नजिकैको गन्तव्यमा लैजाने उद्देश्यले ललितपुरको लाकुरी भञ्ज्याङमा खुलेको द टेरेस रिसोर्ट एण्ड स्पा पनि महँगो रिसोर्टमा पर्छ ।

नेपालीका लागि सहुलियत पाइने यो होटल विदेशीका लागि भने एक रात बस्न करसहित ५६० डलर अर्थात ७४ हजार ४ सय रुपैयाँ लाग्छ । यो होटलमा जम्मा ४६ वटामात्रै कोठा छन् ।

दूषित थानी हिमालयन रिसोर्ट

नेपालमा भित्रिएको अन्तर्राष्ट्रिय चेन होटल दूषित थानी हिमालयन रिसोर्ट पनि महँगोमध्येको एक हो । यो रिसोर्टमा एक रात बस्न ४३८  डलर (५८ हजार) रुपैयाँ लाग्छ । यो होटलको महँगो कोठामा बस्ने भने रातकै १५ सय डलर अर्थात करिब २ लाख रुपैयाँसम्म पर्छ ।

दूषित थानी थाइल्यान्डको चर्चित होटल चेन हो । रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन् । रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ । दूषित थानी समूहको ८५ प्रतिशत र ओमस्टोन एसियाको १५ प्रतिशत लगानी छ ।

दूषित होटल एण्ड रिसोर्टको व्यवस्थापनमा भारत, दुबई, माल्दिभ्स, केन्या, कतार, सिंगापुर, युएई, थाइल्यान्ड, चीनलगायत अन्य ४० भन्दा बढी देशमा होटल तथा रिसोर्ट सञ्चालनमा छ ।

मिस्टिक माउन्टेन

नगरकोटामा रहेको मिस्टिक माउन्टेन होटलसमेत महँगो होटलको सूचीमा पर्छ । यो होटलमा बस्न एक रातकै ३६२ डलर अर्थात् ४८ हजार रुपैयाँदेखि ४९६ डलर अर्थात् ७४ हजार ४ सय रुपैयाँसम्म पर्छ ।

काव्या रिसोर्ट एण्ड स्पा

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा जाने स्वदेशी तथा विदेशी पर्यटकको उपयुक्त गन्तव्य हो । यही गन्तव्यमा नयाँ र स्तरीय होटल थपिने क्रम भइरहेको छ । यही गन्तव्यलाई दृष्टिगत गरेर स्तरीय सेवा सहितको शुल्कमा काब्या रिसोर्ट एण्ड स्पा सञ्चालनमा छ ।

यो रिसोर्टमा बस्न एक रातको ५१९ (६९ हजार २ सय)देखि ८२१ डलर १ लाख नौ हजार डलर खर्च लाग्छ । यसमा २० वटा भिल्ला छ । नेपालीका लागि यो होटलले पनि सहुलियत दिएको छ । यसका लागि ३५ हजार रुपैयाँमै स्विट रुम उपलब्ध गराउँछ।

द द्वारिकाज रिसोर्ट

द द्वारिकाज रिसोर्ट धुलिखेल पनि पर्यटकीय सेवा र सुविधासहितको स्तरीय रिसोर्ट हो । यो रिसोर्टमा बस्न एक रातका लागि ४२१ डलर(५५ हजार नौ सय) देखि ७४० डलर ६२ हजार ५ सयसम्म लाग्ने होटलले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ ।

काठमाडौंको बत्तिसपुतलीमा रहेको द्वारिकाजकै लगानीमा धुलिखेलमा अर्को होटल बनेको हो । काठमाडौंमा रहेको द्वारिकाजको होटल पनि पर्यटकीय सेवा र सुविधासहित स्तरीय मानिन्छ । यसले एक रातका लागि २७० डलर (३५ हजार नौ सय रुपैयाँ) ६२८ डलर डलर (८३ हजार रुपैयाँ)सम्म लिने गरेको छ ।

बबरमहल भिल्ला

बबरमहल भिल्ला काठमाडौंको सिंहदरबार अगाडिको पुरानो कलाकौशलको रिसोर्ट हो । यहाँ राणाकालीन परिवेश झल्केने संरचना छ ।

बबरमहल रिभिजिटेड कम्प्लेक्समा रहेको यो होटलमा जम्मा ३३ वटा कोठा छन् । यो होटलमा बस्न भने न्यूनतम २३९ डलर (३१ हजार ७ सय) रुपैयाँ न्यूनतम लाग्छ ।

गोकर्ण फरेस्ट गल्फ रिसोर्ट

गोकर्ण फरेस्ट गल्फ रिसोर्ट काठमाडौंको उत्तरी क्षेत्रमा रहेको रिसोर्ट हो । सरकारी जग्गा भाडामा लिएर सञ्चालन भएको यो रिसोर्टमा १ सय वटा कोठा छन् ।

यहाँ बस्न १४० डलर (१८ हजार ६ सय रुपैयाँ) देखि ३२७ डलर लर (४३ हजार ४ सय रुपैयाँ)सम्म खर्च लाग्छ ।

तायो इको रिसोर्ट

तायो इको रिसोर्ट नेवारी आर्किटेकमा निर्माण भएको आधुनिक सेवा सुविधाको रिसोर्ट हो । यो रिसोर्ट नगरकोटमा जाने पर्यटकलाई दृष्टिगत गरेर बनाइएको रिसोर्ट हो ।

४० वटा डिलक्स रुमसहितको यो होटलमा एक रात बस्न नेपालीका लागि १८ हजार रुपैयाँ लाग्छ भने विदेशीका लागि न्यूनतम् २ देखि ३५० डलरसम्म लाग्छ ।

चन्द्रागिरि हिल्स रिसोर्ट

काठमाडौं आउने विदेशी पर्यटकलाई उपत्यकाको दृश्यावलोकनसहितको मनोरम दृश्यावलोकन गराउन सकिने गन्तव्यको रुपमा विकास भएको चन्द्रागिरि हिल्स रिसोर्ट हो ।

यो रिसोर्टमा १ सय वटा कोठा छन् । रिसोर्टमा बस्न नेपालीका लागि १३ हजारदेखि १७ हजार रुपैयाँ पर्छ । विदेशीका लागि भने १२० देखि २५० डलरसम्म पर्ने होटलले जानकारी दिएको छ ।


क्लिकमान्डु