नेपालका कुन पाँचतारे होटलमा एक रात बस्न कति खर्च लाग्छ ?



काठमाडौं । स्तरीय तारे होटलमा बस्दा र खाँदा उसै त खर्चालु हुन्छ त्यसमा पनि ब्राण्डेड होटल भने अझै महंगो हुन्छ । पछिल्लो समय नेपालमा पनि विदेशी चेन होटलसँगै थपिँदै गएको पाँचतारे होटलका कारण सेवा सुविधाका आधारमा खर्चालु पनि हुने गरेका छन् ।

नेपालमा अहिले सञ्चालन भएका १५ वटा पाँचतारे होटल छन् । यीमध्ये करिब आधा दर्जन विदेशी चेनका होटल छन् । विदेशी चेनका होटल जुन देशमा गएपनि एउटै सेवा सुविधा र गुणस्तर कायम भएका हुन्छन । त्यसैले चेन होटल भित्रदा उसको गुणस्तर पनि आउने गर्छ । चेन होटल सञ्चालन गर्नु र सो अनुसारको सेवा सुविधा र स्तर मेन्टेन गर्नुपर्ने भएकोले पनि पाँचतारे होटलहरू महंगो हुने गरेका छन् ।

पछिल्लो समय नेपालमा पनि पाँचतारे माथि पनि पाँचतारे डिलक्सका होटल छ । यस्तो व्यवस्था अनुसार झापाको मेची क्राउन पाँचतारे डिलक्स होटल हो भने अरुले सो अनुसारको क्षमता बनाएकाले पनि पाँचतारेमै वर्गीकरण भएका छन् ।

नेपालमा हाल सञ्चालन भएका पाँचतारे होटल सबैले सस्तोदेखि महंगोसम्मको सुविधा दिएका छन । पाँचतारे होटलमा बस्दा सुविधा अनुसारको खर्च लाग्छ ।

र्‍याडिसन होटल

ओरियन्टल होटल्स लिमिटेडले सञ्चालन गरेको यो होटल राजधानीको लाजिम्पाटमा छ । होटल र्‍याडिसनमा २६० वटा कोठा छ भने एक रातमा ३५० जनालाई सेवा दिन सक्ने क्षमता छ ।

यो होटलमा एक रात बस्न सुपेरियर रुमको लागि न्यूनतम १३८ डलर अर्थात १८ हजार ३ सय रुपैयाँ खर्च लाग्छ । यो होटलको सबैभन्दा महंगो कोठा डिलक्स स्वीट रुममा बस्न भने प्रतिरात ४०० अमेरिकी डलर अर्थात हालको ५३ हजार २ सय रुपैयाँ लाग्छ।

यो मूल्यमा पनि अहिले छूट अफर भएकोले उक्त होटलको डिलक्स स्वीट रुममा बस्दा प्रतिरात ३६० डलर (४७ हजार रुपैयाँ) तिरे पुग्छ । होटलमा भएको रुम रेटलाई डलरको मूल्य तिहार अगाडिको १३३ लाई औषतमानेर नेपाली रुपैयाँमा गणना गरिएको छ ।

सोल्टी होल्टी

राजधानीको सोल्टीमोडमा रहेको यो होटल नेपालमा हाल सञ्चालनमा आएकामध्ये सबैभन्दा पुरानो होटल हो । यसले पाँच दशकको यात्रा तय गरिसकेको छ ।

सोल्टी इन्टरप्राइजेजबाट लगानी भएको यो होटलमा २८२ वटा कोठा छन भने ४३५ शैय्या रहेको छ । यो होटलमा एक रात बस्न सामान्य कोठामा २३७ डलर अर्थात अहिलेको डलर सटहिको दर अनुसार ३१ हजार ५ सय रुपैयाँ लाग्छ । होटलको सबैभन्दा महंगो कोठामा बस्दा भने २०२९ डलर अर्थात २ लाख ६९ हजार रुपैयाँ एक रातकै लाग्ने गरेको छ ।

याक एण्ड यति

दरबारमार्गमा रहेको यो पाँचतारे होटल राणाकालीन दरबारको संरचनामा खुलेको होटल हो । यो होटलमा राधेश्याम सराफसहितको लगानी छ ।

होटलमा २४७ कोठा भने ३५० बेड छ । यो होटलमा एक रात बस्न डिलक्स रुमको लागि २२६ डलर अर्थात ३० हजार रुपैयाँ लाग्छ । होटलको प्रेसिडेन्टल स्वीट रुममा बस्न भने एक रातकै १९५६ डलर अर्थात २ लाख ६० हजार रुपैयाँ खर्च लाग्छ ।

हायात रिजेन्सी

बौद्धमा रहेको हायात रिजेन्सी होटल नेपालको सरकारी लगानीको पहिलो पाँचातारे होटल हो । यो होटलमा नेपाल सरकारले तारागाँउ विकास समितिमार्फत ३९ प्रतिशत शेयर लगानी गरेर सुरु भएको हो ।

यो होटलमा २९० वटा कोठा छन भने ४२६ बेड छ । होटलको डिलक्स रुममा बस्न प्रति रातको १६० डलर अर्थात २१ हजार २ सय लाग्छ । यो होटलमा रहेको रिजेन्सी स्वीटमा बस्न भने प्रतिरात ४६० डलर अर्थात ६१ हजार २ सय भए रुपैयाँ लाग्छ ।

म्यारियट काठमाडौं

राजधानीको नक्सालमा रहेको यो होटल पछिल्लो समयको चल्तीको होटल हो । नेपालमा विदेशी मुद्रा भित्र्याउने मध्येको पहिलो नम्बरमा रहेको यो होटल औसत मूल्यको हो । होटल एभरेष्ट हस्पिटालिटी एण्ड होटलको नामबाट म्यारियट चलेको छ । अन्तर्राष्ट्रिय चेन होटल म्यारियट काठमाडौंमा सुमितकुमार अग्रवाल, किरण केसीसमेतका सञ्चालक तथा सेयरधनी छन् ।

होटलमा २१५ वटा कोठा छ भने ३४४ वटा बेड छ । यो होटलमा बस्न डिलक्स रुमको लागि प्रतिरात २०६ डलर अर्थात २७ हजार ४ सय लाग्छ । यो होटलको एक्जुकेटिभ स्वीट्स भने भने जम्मा ४२५ डलर अर्थात ५६ हजार ५ सय रुपैयाँ खर्च लाग्छ ।

हायात प्यालेस

सोल्टीमोड बाफलमा रहेको हायात प्यालेसलाई सिटी होटल लिमिटेडले सञ्चालन गरेको छ । शक्तिकुमार गोल्यान सञ्चालक रहेको यो होटलमा १५३ वटा कोठा रहेको छ भने ३०६ बेड छ ।

यो होटलमा एक रात बस्न १८४ डलर अर्थात २४ हजार ४ सय रुपैयाँ खर्च लाग्छ । यो होटलमा रहेको महंगो कोठामा बस्न एक रातको खर्च भने जम्मा ३४५ डलर अर्थात ४५ हजार ८ सय मात्रै लाग्छ ।

एभरेष्ट होटल

बानेश्वरमा रहेको होटल ‘द एभरेष्ट होटल इन्टरनेसन’ले सञ्चालन गरेको हो । एभरेष्ट होटलको सञ्चालक मस्कुर अहमद लारीसहितका व्यक्ति छन् । होटलमा १६० कोठा छ भने २८० बेड छ ।

यो होटलमा एक रात बस्न सामान्य डिलक्स होटलमा ११६ डलर अर्थात १५ हजार ४ सय रुपैयाँ तिरे पुग्छ । यो होटलको महंगो कोठामा बस्न पनि जम्मा १७४ डलर अर्थात २३ हजार १ सय रुपैयाँ लाग्छ ।

मल्ल होटल

राजधानीको लैनचौरमा रहेको यो होटलमा रमा मल्ल र शरबिन्दू सञ्चालक तथा सेयरधनी छन् । होटलमा १ सय वटा कोठा छ भने १६३ बेड छ ।

यो होटलमा एक रात बस्न ९० डलर अर्थात ११ हजार ९ सय रुपैयाँ खर्च लाग्छ । यो होटलमा महंगो कोठाको पनि १२२ डलर अर्थात १६ हजार २ सय मात्रै भए पुग्छ । नेपालमा सञ्चालनमा रहका पाँचतारे होटलमध्ये सबैभन्दा कम कोठा र किफायति मूल्यको सूचीमा पर्छ मल्ल ।

अलफ्ट ठमेल
पर्यटकीय क्षेत्र ठमेलमा रहेको अलफ्ट होटल छाँयादेवी कम्पेक्सले निर्माण गरेको हो । यो होटलमा महेश्वरप्रकाश श्रेष्ठसमेतको लगानी छ । हाल सञ्चालनमा रहेको मध्ये सबैभन्दा बढी (५ अर्ब चुक्तापुँजी) देखाएको यो होटलमा १६७ कोठा छ भने २१६ शय्या छ ।

यो होटलमा बस्न भने १४० अर्थात १८ हजार ६ सय रुपैयाँ लाग्छ । होटलमा बस्न सबैभन्दा महंगो कोठाको लागि भने ३०८ डलर अर्थात ४० हजार ९ सय रुपैयाँ खर्च लाग्ने होटलले जानकारी दिएको छ ।

पोखरा ग्राण्ड

राजधानी बाहिरको पर्यटकीय क्षेत्र कास्कीमा रहेको यो पोखरा ग्राण्ड किशोर सिलवालसमेतले सञ्चालन गरेको होटल हो । यो होटलमा २४७ वटा कोठा छन भने २४७ शय्या छ ।

यो होटलमा एक रात बस्न सामान्य डिलक्स डलर रुमको कोठाको लागि ७ हजार ६ सय खर्च लाग्छ भने होटलको डिलक्स स्वीट नामकको महंगो कोठामा बस्दा भने ३१ हजार २ सय रुपैयाँ खर्च लाग्छ ।

होटल द किङ्सवरी
झापाको विर्ताबोडमा रहेको यो होटल प्रकाश गोतामेले सञ्चालन गरेका छन् । होटलमा ८२ कोठा छ भने १०० शय्या रहेको छ । हो होटलमा एक रात बस्न बस्न न्यूनतम १२ हजार १ सय रुपैयाँ खर्च लाग्छ ।

टाइगर प्यालेस

टाइगर वानले रुपन्देहिमा सञ्चालन गरेको यो टाइगर प्यालेस नेपालमा भित्रिएको विदेशी लगानीको होटल पनि हो । सिल्भर हेरिटेज इन्भेष्टमेन्टको लगानी रहेको यो होटलमा १०२ वटा कोठा छन भने १४६ शय्या छन् । यो होटलमा एक रात बस्न सामान्य डिलक्स रुममा बस्न १३० डलर १७ हजार २ सय लाग्छ भने एक्जुकेटिभ भिल्लामा बस्न ७७० डलर अर्थात १ लाख रुपैयाँ लाग्छ ।

होटल सेन्ट्रल प्लाजा
बाँकेमा रहेको यो होटल सेन्ट्रल प्लाजा राजधानी बाहिरको पाँचतारे होटल हो । यो होटलमा तुल्सीदेवी अर्यालसमेतको लगानी छ । यो होटलमा जम्मा ८० वटा कोठा छ भने ९९ वटा शय्या छ ।

काठमाडौं बाहिर ८० कोठाकै पाँचतारे होटल हुने भएकोले न्यूनतम सुविधा र सेवा पुगेकोले यो होटलले पाँचतारेमा वर्गीकरण पाएको हो । यो होटलमा एक रात बस्न ७ हजार ६ सय रुपैयाँदेखि १३ हजार रुपैयाँसम्म खर्च लाग्छ ।

सोल्टी शिबक्रिम
सोल्टी होटलको भगिनि संस्था सोल्टी हस्पिटालिटीले बनाएको यो होटलमा ८० कोठा र ९९ शय्या छ । यो होटल एक रात बस्न ११ हजार रुपैयाँ खर्च लाग्छ । यो होटलको महंगो कोठामा बस्न पनि २१ हजार ३ सय भए पुग्छ ।

नेपालमा सञ्चालित पाँचतारे होटलमध्ये, सांग्रिला होटल, होटल डेला अन्नपूर्ण र पोखराको फूलबारी पूर्ण रूपमा बन्द छ । होटल इच्छा र होटल सेन्ट्रल प्लाजाको भने मूल्य सूची उपलब्ध हुन सकेन ।


क्लिकमान्डु